हेटौँडामा जारी राष्ट्रिय बुद्धिचालमा पुरुषतर्फ रौतहटका रूपेशको अग्रता

महिलातर्फ सिन्दिरा र एञ्जल संयुक्त अग्रस्थानमा

मंगलबार, १५ माघ, २०८१
डिजिटल संस्करण

हेटौँडामा जारी राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण सम्पन्न हुँदा पुरुषतर्फ एफएम रूपेश जैसवालले एकल अग्रता कायम गरेका छन्। पूर्वनेपाल च्याम्पियनसमेत रहेका रूपेशले पूर्ण तीन अंक जोडेर पुनः राष्ट्रिय च्याम्पियनको दाबी पेस गरेका छन्।

२०९३ रेटेड रूपेशले ललितपुरका १९५२ रेटेड सुरोज महर्जन, झापाका २०२१ रेटेड सुश्रुत दाहाल, काठमाडौंका १८८२ रेटेड प्रेमकृष्ण महर्जनलाई क्रमशः पराजित गर्न सफल भए।

यस्तै, पुरुषतर्फ दोलखाका आशिष फुयाँल पनि अपराजित २.५ अंक बनाउँदै रूपेशलाई पछ्याइरहेका छन्। दोस्राे स्थानका १९८१ रेटेड आशिषले काठमाडौंका २०१६ रेटेड एफएम रिजेन्द्र राजभण्डारी र भक्तपुरका १६८७ रेटेड विनय थापालाई हराउँदा २०४५ रेटेड पुरुषोत्तम सिलवालसँग बराबरी खेले।

प्रतियोगितामा काभ्रेका २०७० रेटेड एफएम क्षितिज भण्डारी, धैर्यवान खेलाडी प्रेमकृष्ण महर्जन दुवैले समान २–२ अंक प्राप्त गर्दै संयुक्त तेस्रो स्थान ओगटेका छन्। झापाका सुश्रुत दाहाल, वर्तमान नेपाल च्याम्पियन १९८२ रेटेड राजन सुवेदी र काठमाडौंका सिएम नवीन तण्डुकारले समान १.५ अंक हासिल गरेका छन्। सुनसरीका १८७८ रेटेड धीरेन राई, युवा पुरुषोत्तम सिलवाल, सुरोज महर्जन र रिजेन्द्र राजभण्डारीले १ अंकको खाता खोलेका छन् भने विनय थापा अंकविहीन छन्।

प्रतियोगितामा महिलातर्फ काठमाडौंकी सिन्दिरा जोशी र ललितपुरकी एञ्जल महर्जनले सबै खेल जितेर संयुक्त अग्रस्थान हासिल गरेका छन्। वर्तमान महिला च्याम्पियन सिन्दिराले काठमाडौंकी निहाना श्रेष्ठ, रुकुमकी नयुमा मगर र चितवनकी लक्ष्मी कँडेलमाथि जित दर्ता गरेकी छन्।

यस्तै, एञ्जलले ओलम्पियाड खेलाडी शान्ति धिमाल, निहाना श्रेष्ठ र नयुमा मगरलाई हराएका हुन्। 

झापाकी पुनम प्रसाईं, ताप्लेजुङकी सुशीला गुरुङ, मोरङकी शान्ति धिमाल, बाँकेकी इशा गिरी, झापाकी कृतिसारा अधिकारी र काठमाडौंकी विनिता कपाली सबैले समान २–२ अंक जोडेर संयुक्त दोस्राे स्थान ओगटेका छन्।

प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ। १३ माघबाट सुरु भएको प्रतियोगिताको सोमबार बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले उद्घाटन गरेका हुन्।

सुझावित समाचार