भारतबाट गहुँ आयातका लागि कोटा खुलाउने कार्य जारी छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयातका लागि कोटा खुलाएको भोलिपल्ट नै उद्योग विभागले थप एक लाख मेट्रिक टन गहुँ आयातका लागि अर्को कोटा खुलाएको छ।
उद्योग विभागले सोमबार जारी गरेको सूचनाअनुसार भारतीय कम्पनी नेसनल कोअपरेटिभ एक्सपर्टस् लिमिटेडमार्फत आयात गर्न पाउने एक लाख मेट्रिक टन गहुँको कोटा खुला गरिएको हो।
वाणिज्य विभागको सूचनाअनुसार कम्पनीहरूले न्यूनतम १०० मेट्रिक टनदेखि अधिकतम १० हजार मेट्रिक टनसम्मको परिमाणका लागि आवेदन दिन सक्ने उल्लेख थियो। उद्योग विभागले इच्छुक उद्योगहरूलाई आफ्नो स्वीकृत वार्षिक योजनाको २५ प्रतिशतभन्दा नबढ्ने गरी कम्तीमा ५०० मेट्रिक टन गहुँ आयात गर्न आवेदन दिनुपर्ने व्यवस्था गरेको छ।
भारतले दुई वर्षदेखि निर्यात प्रतिबन्धको सूचीमा राखेको गहुँ नेपालका लागि भने खुला गरेको थियो। भारतको विदेश व्यापार महानिर्देशनालयले २० पुसमा एक सूचना जारी गर्दै नेपाललाई दुई लाख टन गहुँ आयातको स्वीकृति दिएको जानकारी दिएको थियो।