कर्णालीको सुर्खेतमा आगामी २५–३० चैतसम्म हुने दसौँ राष्ट्रिय खेलकुदमा सहभागी हुन बागमती प्रदेश सरकारले खेलाडी छनोटदेखि टिम तयारीसम्मका लागि पाँच करोड दिने
बागमती प्रदेश सरकारले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्लाई पाँच करोड उपलब्ध गराउने भएको छ । कर्णालीको सुर्खेतमा आगामी २५ देखि ३० चैतसम्म दसौँ राष्ट्रिय खेलकुद हुँदै छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले टिम तयारीका लागि रकम उपलब्ध गराउने निर्णय गरेकोे मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीले जानकारी दिए । परिषद्ले खेलकुद मन्त्रालयसँग सात करोड ५० लाख रुपैयाँ बजेट माग गरेको थियो । तर, आर्थिक मामिला तथा योजना मन्त्रालयले पाँच करोड रुपैयाँ बजेट उपलब्ध गराउने तयारी भएको मैनालीले बताए ।
‘परिषद्लाई आवश्यक बजेट उपलब्ध गराउने विषयमा मन्त्रालयबाट औपचारिक निर्णय हुन बाँकी छ,’ मैनालीले भने, ‘यसबाहेक थप बजेट उपलब्ध गराउने विषयमा प्रक्रिया अघि बढाइएको छ ।’ खेलाडीदेखि टोली तयारीको सम्बन्धमा प्रदेश सरकारले तीन करोड ७५ लाख रुपैयाँ विनियोजन गरिसकेको छ । दसौँ राष्ट्रिय खेलकुदको तयारीका लागि प्रदेश खेलकुद विकास परिषद्लाई आठ करोड ७५ लाख रुपैयाँ उपलब्ध हुने सचिव मैनालीले बताए । ‘सरकारको आर्थिक अवस्था र राजस्व संकलनको अवस्थाका आधारमा बजेट व्यवस्थापन गरिएको हो । विपत्का कारण भएका क्षति व्यवस्थापन गर्न बजेट व्यवस्थापन गर्नुपर्ने भएकाले परिषद्ले माग गरेअनुसार बजेट दिन नसकिएको सचिव मैनालीले बताए ।
युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले ३६ खेलका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि विनियोजन गरिएको तीन करोड ७४ लाख रुपैयाँ र थप बजेट पाँच करोड रुपैयाँले समेत अपुग हुने बताए । ‘प्रदेश सरकारले उपलब्ध गराएको बजेटबाट ३६ खेलका खेलाडी छनोट, खेलाडीको आवास खर्च, खेलाडीको पारिश्रमिक तथा सेवा–सुविधामा खर्च हुनेछ,’ मन्त्री महर्जनले भने ।
१३ जिल्लामा छनोट
प्रतियोगितामा सहभागी हुन बागमतीमा १३ जिल्लाबाट खेलाडी छनोट गरिनेछ । प्रारम्भिक छनोट चरणमा १३ सय खेलाडीलाई छनोट गरिने खेलकुदमन्त्री महर्जनले बताए । ‘प्रदेशका १३ जिल्लामा छनोट प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छौँ, सुरुवातमा १३ सय खेलाडीलाई क्लोज क्याम्पमा राखिनेछ,’ उनले भने ।
बागमतीबाट आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, शारीरिक सुगठन, बक्सिङ, बुद्धिचाल, क्रिकेट, साइक्लिङ, फेन्सिङ, फुटबल, फुलकन्ट्याक्ट कराँते र गल्फमा प्रतिस्पर्धा गर्नेछ । यसैगरी, बागमतीका खेलाडीले जिम्न्यास्टिक, ह्यान्डबल, हक्की, आइटिएफ तेक्वान्दो, जुडो, कबड्डी, कराँते, खो–खो, प्याराग्लाइडिङ, रग्बी, सेपाक ताक्रो, भलिबल, कुस्ती, उसु, सफ्टटेनिसलगायत खेलमा भाग लिनेछन् ।
गत वर्ष मात्रै अन्तरप्रदेश खेलकुद सञ्चालनका लागि प्रदेश सरकारले मन्त्रालयलाई नौ करोड रुपैयाँ बजेट व्यवस्था गरेको थियो ।