बुटवल उपमहानगरले औपचारिक कार्यक्रममा खादा र माला प्रयोग नगर्ने

आइतबार, १३ माघ, २०८१
डिजिटल संस्करण

बुटवल उपमहानगरपालिकाले औपचारिक कार्यक्रममा खादा र माला प्रयोगमा निषेध गर्ने निर्णय गरेको छ। शनिबार सम्पन्न नगरसभाको अधिवेशनले धार्मिकबाहेकका कार्यक्रममा खादा र माला प्रयोग नगर्ने निर्णय पारित गरेको हो।

नगरसभाले औपचारिक कार्यक्रमहरूमा मञ्चमा सातजनाभन्दा बढीले आसनग्रहण नगर्ने तथा औपचारिक कार्यक्रमहरूलाई छरितो बनाउँदै लैजाने निर्णय पनि गरेको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले जानकारी दिए।

नगरसभाको बैठकमा प्रमुख पाण्डेयले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको थियो। सभामा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवलको विकासमा प्रदेश र संघीय सरकारसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रयास गरे पनि अपेक्षाअनुरूप बुटवलका मुख्य र ठुला समस्यामा साथ नपाएको बताए। उनले आन्तरिक स्राेत तथा संघ र प्रदेशको अनुदानबाट जे–जति बजेट छ, त्यसैबाट बुटवलको विकासका कामलाई अगाडि बढाउने गरी कार्यक्रम र योजनाहरू अगाडि सारेको बताए।

उनले नगरका मुख्य समस्या समाधानका लागि संघ र प्रदेशले विशेष चासो दिएर स्राेतबारे सोचविचार गर्नुपर्ने धारणा राखे। ज्योतिनगर पहिरो, तिनाउ नदीकिनारको बस्ती, तिनाउ करिडोरका कारण विस्थापितहरूबारे संघ सरकारसँग पटकपटक छलफल भए पनि निकास ननिस्किएको उनले बताए। बुटवलको विकास सबै पक्षको सहकार्यबाट मात्रै सम्भव रहेको उनको भनाइ थियो।

उनले मुख्य सडकमा ट्राफिक लाइट जडान, हाइमास्ट लाइट जडान, बधशाला सञ्चालन, बसपार्कमा स्नानगृहसहितको शौचालय, मुख्य सडकको हरियालीजस्ता कामहरू सम्पन्न भइसकेको बताए। यस्तै, आम्दा अस्पतालमा पारामेडिकल अध्ययन सुरु र अस्पतालको स्तरोन्नति सुरु भएको तथा वडा नम्बर १३ र १७ मा १५–१५ बेडका अस्पताल निर्माण सम्पन्न भई छिटै सञ्चालन हुने अवस्थामा रहेको बताए।

बिटिआईमा ४० जना छात्रालाई निःशुल्क अध्ययनको व्यवस्था, सीपमूलक तालिम र रोजगारका लागि नगरप्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, उपप्रमुख महिला आत्मनिर्भर कार्यक्रम, बाआमासँग नगरप्रमुख कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको प्रमुख पाण्डेयले जानकारी दिए।

प्रमुख पाण्डेले युवाहरूलाई खेलमा आकर्षित गर्नका लागि विद्यालयस्तरीय मेयरकप फुटबल प्रतियोगिता, भलिबल प्रतियोगिता, क्रिकेट प्रतियोगिताहरू सञ्चालन गर्ने र खेलमैदानहरूको स्तरोन्नति गर्ने काम भइरहेको बताए। उनले चालू आर्थिक वर्षमा केही अधुरा कामले पूर्णता पाउने र एउटा नतिजा देखिने बताए।

नगरसभामा उपप्रमुख सावित्रादेवी अर्यालले चालू आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारमा केही ठुला योजनाको सिफारिस गर्ने र खर्च नहुने विकास बजेट शीर्षकान्तरसम्बन्धी गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।

सम्पादकको रोजाइ

सुझावित समाचार