धनकुटाका पत्रकारहरूले गत तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकमले विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री किनेर प्रदान गरेका छन् । उनीहरूले धनकुटा नगरपालिका– ७ स्थित त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११ जना विद्यार्थीलाई स्विटर, टोपी, कापिकलम प्रदान गरेका हुन् ।
गत वर्षझैँ यो वर्ष पनि धनकुटाका एक दर्जनभन्दा बढी पत्रकारले जिल्ला सदरमुकाममा दुई दिन देउसीभैलो खेलेका थिए । सोही देउसीभैलोमार्फत संकलन भएको रकमबाट विद्यार्थीहरूलाई सहयोग गरिएको हो । सामग्री हस्तान्तरणका लागि देउसीभैलो कार्यक्रमका समन्वयकर्ता एवं नेपाल पत्रकार महासंघका उपाध्यक्ष रविन कट्टेलले संकलित रकमलाई सामाजिक काममा खर्च गरौँ भन्ने सोचले विद्यार्थीहरूलाई सहयोग गरिएको बताए ।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक दीपक पोखरेलले देउसीभैलो खेलेको पैसालाई सदुपयोग गरेर विपन्न विद्यार्थीहरूलाई सहयोग गरेकोमा पत्रकारहरूलाई धन्यवाद दिए । धनकुटाका क्रियाशील पत्रकारहरूले हरेक वर्ष देउसीभैलो खेलेर संकलन भएको रकमलाई सामाजिक काममा खर्च गर्दै आएका छन् ।