विपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

धनकुटाका पत्रकारहरूले विपन्न परिवारका विद्यार्थीहरूलाई न्यानो कपडा र शैक्षिक सामग्री प्रदान गरेका छन् । तिहारमा देउसीभैलो खेलेर संकलन भएको रकमबाट पत्रकारहरूले धनकुटा नगरपालिका–७ स्थित त्रिवेणी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका ११ जना विद्यार्थीहरूलाई स्विटर, टोपी, कपी र कलम प्रदान गरेका हुन् ।

गत वर्षझैँ यो वर्ष पनि धनकुटाका एक दर्जन बढी पत्रकारहरूले जिल्ला सदरमुकाममा दुई दिन देउसीभैलो खेलेका थिए । सोही देउसीभैलोमार्फत संकलन भएको रकमबाट विद्यार्थीहरूलाई सहयोग गरिएको हो । सामग्री हस्तान्तरणका लागि देउसीभैलो कार्यक्रमका समन्वयकर्ता एवम् नेपाल पत्रकार महासंघका उपाध्यक्ष रविन कटेलले संकलित रकमलाई सामाजिक काममा खर्च गरौँ भन्ने सोचले विद्यार्थीहरूलाई सहयोग गरिएको बताए ।

सो अवसरमा त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक पोख्रेलले देउसीभैलो खेलेको पैसालाई सदुपयोग गरेर विपन्न विद्यार्थीहरूलाई सहयोग गरेकोमा पत्रकारहरूलाई धन्यवाद दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विदुर खवास, उपाध्यक्ष कटेल, अकोरावका केन्द्रीय उपाध्यक्ष गोपाल बराइली, फोनिजका निवर्तमान प्रदेश अध्यक्ष सन्तवीर लामा, नेपाल प्रेस युनियनका अध्यक्ष विनोद घिमिरे, फोनिजका जिल्ला अध्यक्ष मानवी मोक्तान, प्रेस सेन्टर नेपालका सचिव विपिन दाहाल पत्रकारहरू कोकिला भण्डारी, जानु तामाङ, प्रमिला घिमिरे, प्रज्वल कटेल लगायतले विद्यार्थीहरूलाई सामग्री प्रदान गरेका छन् ।

धनकुटाका क्रियाशील पत्रकारहरूले हरेक वर्ष देउसीभैलो खेलेर संकलन भएको रकमलाई सामाजिक काममा खर्च गर्दै आएका छन् । उनीहरूले गत वर्ष श्रीपञ्चमी पार्कस्थित बाल पुनर्स्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका थिए ।

सुझावित समाचार