वरिष्ठ अधिवक्ता त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

शनिबार, १२ माघ, २०८१
डिजिटल संस्करण

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । यस मुद्दामा आइतबारका लागि काठमाडौं जिल्ला अदालतले पेसी तोकेको छ । 

‘उहाँले सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेपछि न्यायाधीशले गर्नुभएको आदेशमाथि टिप्पणी गर्नुभएको रहेछ । त्यो अन्तर्वार्ता टिभीमा प्रसारण भएको छ,’ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले भने, ‘उहाँले आदेशका विषयमा उठान गर्नुभएको विषयले अदालतको अवहेलना भएकाले कारबाहीको माग गर्दै निवेदन दर्ता भएको हो ।’ 

सूचना अधिकारी श्रेष्ठका अनुसार उदयपुरको त्रियुगा नगरपालिका– १३ घर भई काठमाडौं महानगरपालिका– ३१ बस्ने दिलबहादुर राईले उक्त निवेदन दर्ता गराएका हुन् । 

बिहीबार मात्र न्यायाधीश समाज नेपालले विज्ञप्ति जारी गर्दै त्रिपाठीको अभिव्यक्तिप्रति खेद जनाएको थियो । समाजका महासचिव टेकनारायण कुँवरले जारी गरेको विज्ञप्तिमा त्रिपाठीको भनाइले समग्र न्यायपालिकाप्रति अनास्था पैदा गरेको उल्लेख छ । ‘वरिष्ठ अधिवक्ताको उक्त अभिव्यक्तिबाट प्रचलित न्यायिक पद्धति र समग्र न्यायपालिकाप्रति नै अनास्था पैदा हुन जाने हुँदा न्यायाधीश समाज नेपाल त्यस प्रकारका अवाञ्छित गतिविधिहरूप्रति खेद व्यक्त गर्दछ,’ विज्ञप्तिमा छ । 

थुनछेक बहसका क्रममा सहकारीपीडितका तर्फबाट बहस गरी निस्किएपछि वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात भएको थियो । उनले बाहिर अन्तर्वार्ता दिएकै वेला उनीमाथि आक्रमण भएको थियो । विशेष अदालत बार एसोसिएसन र काठमाडौं जिल्ला अदालत बारले समेत उनीमाथिको आक्रमणको भत्र्सना गरेको थियो । यस आक्रमणमा संलग्न रहेको भनी प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी कारबाहीसमेत अगाडि बढाइसकेको छ । 

सुझावित समाचार