आन्तरिक उडान नियमित भए पनि फ्लाई दुबईले भैरहवामा गरेन अवतरण

भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुलाई तीन हजार सस्तो पर्ने

शुक्रबार, ११ माघ, २०८१
डिजिटल संस्करण

भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार आन्तरिक उडानहरू नियमित नै भए पनि दुबईबाट आएको फ्लाई दुबईले भिजिबिलिटी नपुगेको भन्दै अवतरण नगरी काठमाडौंमा उडान डाइभर्ट गरेको छ । बिहीबार दिनभर भैरहवा विमानस्थलको भिजिबिलिटी दुई हजारदेखि २५ सय मिटरसम्म रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

जबकि, भैरहवामा अवतरण गर्न १८ सय मिटर भिजिबिलिटी पर्याप्त मानिन्छ । बिहीबार यती र बुद्धका १७ वटा आन्तरिक उडान कुनै समस्या नभई दिनभर भैरहवा–काठमाडौं समयमै उडान भएका थिए । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता दीपक बज्राचार्यले बिहीबार १७ वटा आन्तरिक उडानहरू साँझ साढे ६ बजेसम्म नियमित समयमै भएको बताए । विमानस्थलको भिजिबिलिटी पनि दुई हजारदेखि २५ सय मिटरसम्म रहेको उनको भनाइ छ । तर, भिजिबिलिटीलाई नै कारण देखाएर अन्तर्राष्ट्रिय उडान डाइभर्ट गरिनुलाई विमानस्थल सञ्चालन गर्न नदिन चलखेल भएको स्थानीय पर्यटन व्यवसायीले आशंका गरेका छन् । 

बिहीबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा पर्यटन परिषद् लुम्बिनी प्रदेशका सदस्य राजेश मलहोत्राले भैरहवा विमानस्थल नियमित सञ्चालन गर्न नदिनमा ठुलो चलखेल भइरहेको बताए । विमानस्थलका कर्मचारी र काठमाडौंका व्यवसायीहरू यस्तो चलखेलमा संलग्न रहेको उनको जिकिर छ । आन्तरिक उडान नियमित भइरहँदा विभिन्न बहानामा अन्तर्राष्ट्रिय उडान डाइभर्ट हुनु शंकाको विषय भएको सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले बताए । हिजोका दिनमा लामो सडक आन्दोलन भएको बताउँदै विमानस्थल नियमित सञ्चालनका लागि पुनः आन्दोलन आवश्यक रहेको उनले बताए । 

भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुलाई तीन हजार सस्तो पर्ने
भैरहवाको गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाईयात्रा तीन हजार रुपैयाँ सस्तो पर्ने भएको छ । सरकारले दुवै विमानस्थल भएर अन्तर्राष्ट्रिय हवाईयात्रा गर्ने यात्रुलाई विमानस्थल सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यात्रु सेवा शुल्कबापत प्रतियात्रु तीन हजार लिँदै आएको छ । सरकारले भदौ ०८३ सम्म दुवै विमानस्थलबाट अन्तर्राष्ट्रिय यात्रा गर्नेलाई यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुको हकमा भने यात्रु सेवा शुल्क यथावत् नै छ । 

गत साउनमै मन्त्रिपरिषद् बैठकले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न कार्ययोजना स्वीकृत गरेको थियो, जसमा भैरहवा र पोखरामा विमानस्थल सेवा शुल्क पूरै छुट दिने उल्लेख थियो । सोही निर्णय अहिले आएर कार्यान्वयन गर्ने निर्णय भएको हो । 

सुझावित समाचार