सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा सुरुङमार्ग शुक्रबार ब्रेक थ्रु हुँदै छ । एक हजार एक सय २६ मिटर लामो सुरुङमार्ग ब्रेक थ्रुका लागि मुख्य टनेल खनेर एक दशमलव पाँच मिटर मात्रै बाँकी राखिएको छ । शुक्रबार साढे एक मिटरको सो भागलाई प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ब्लास्ट गरिने कार्यक्रम छ । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसहित अन्य मन्त्री तथा सांसदहरूको पनि सहभागिता रहनेछ ।
सुरुङमार्ग निर्माण गर्न चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाखमा ठेक्का लिएको थियो । सुरुङमार्गको तीनवटै बाइपासको ब्रेक थ्रु भने पुसको पहिलो साताअगाडि नै भएको थियो । त्यसपछि मुख्य टनेलको काम तीव्र पारिएको थियो ।
आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीका अनुसार सुरुङभित्र केही समस्या आए बाइपासबाट निस्कन मिल्ने गरी तीनवटा बाइपास बनाइएको हो । तेस्रो र पहिलो बाइपासको ब्रेक थ्रु २६ भदौ तथा ४ असोजमा भएको थियो भने दोस्रो बाइपासको ब्रेक थ्रु गत ७ पुसमा गरिएको थियो । पहिलो बाइपासको लम्बाइ एक सय ५१ मिटर, दोस्रोको एक सय ६१ र तेस्रोको एक सय ३० मिटर रहेको छ । सिद्धार्थ राजमार्ग भएर साना–ठुला दैनिक हजारौँ सवारी बुटवलबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङलगायत लुम्बिनी र गण्डकीका पहाडी जिल्लाहरूमा ओहोरदोहोर गर्छन् ।
शुक्रबार ब्रेक थ्रु हुन लागेको सिद्धबाबा सुरुङमार्गको बुधबारसम्मको प्रगति करिब ४० प्रतिशत रहेको छ । आयोजनाका अनुसार बुधबारसम्म सुरुङमार्गको भौतिक प्रगति ४० दशमलव १८ प्रतिशत रहेको छ भने वित्तीय प्रगति ३९ दशमलव ९० प्रतिशत रहेको छ ।
बुटवल–गोरुसिंगे सडक विस्तारको शुभारम्भ प्रधानमन्त्रीबाट गरिँदै
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिंगे सडकखण्ड विस्तारको शुभारम्भ पनि शुक्रबार गरिँदै छ । सुरुङमार्गको ब्रेक थ्रुपछि सडक विस्तारको शुभारम्भ प्रधानमन्त्री केपी ओलीले गर्ने कार्यक्रम तय गरिएको छ । आयोजनाका अनुसार ५० किलोमिटर लामो सडक विस्तारको शुभारम्भ बुटवलमा गरिँदै छ ।
बुटवल–गोरुसिंगे सडकखण्ड वन्यजन्तु तथा वातावरणमैत्री बनाउने गरी निर्माण अगाडि बढाइएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको ५० किलोमिटर लामो सडक विस्तारका लागि दुई खण्डमा गरी १३ अर्ब ५५ करोड ६५ लाखको ठेक्का सम्झौता भई काम अगाडि बढाइएको छ । काम सुरु गरेको तीन वर्षभित्र सम्पन्न गर्ने गरी चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र आशिष् निर्माण सेवा नेपाल जेभीसँग सम्झौता भएको सडक विस्तार आयोजनाले जनाएको छ ।
निर्माण हुने सडकखण्डमा वन क्षेत्र पनि पर्ने भएकाले जन्यजन्तुमैत्री बनाउने गरी सडक विस्तार गर्न लागिएको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताएकी छिन् । कपिलवस्तुको चन्द्रौटासम्म विस्तार गर्ने योजना रहे पनि पहिलो चरणमा बुटवल–गोरुसिंगे सडकखण्डको काम अगाडि बढाइएको छ । बुटवल–गोरुसिंगे सडकखण्ड वन क्षेत्रमा २४ मिटरदेखि सहरी क्षेत्रमा ५० मिटरसम्मको बनाइँदै छ ।
वन्यजन्तुका लागि १९ वटा अन्डरपास बन्ने
सडकखण्डमा सालझन्डी–पिपरा क्षेत्रमा जंगल रहेको छ । त्यस्तै, वनगाई–गोरुसिंगे सडकखण्डमा पनि जंगल क्षेत्र रहेको छ । पूर्व–पश्चिम राजमार्गको उत्तर तथा दक्षिण क्षेत्रमा जंगल पर्ने हुँदा जनावरहरू उत्तर–दक्षिण आवतजावत गर्दा यो सडक पार गर्नुपर्छ । वन्यजन्तु आवतजावत गर्दा अवरोध नहोस् र उनीहरूलाई कुनै प्रकारको क्षति नहोस् भनेर अन्डरपाससहित सडक विस्तार गर्न लागिएको हो । जंगल क्षेत्रमा १९ वटा अन्डरपास बनाइने भएको छ । १९ वटामध्ये सालझन्डी–पिपरा खण्डमा चारवटा बनाइनेछ । त्यस्तै, कोइली बनगाई–गोरुसिंगे जंगलमा १० वटा अन्डर पास बनाइनेछ ।
योजना कार्यालयका लेखा अधिकृत राजेन्द्रप्रसाद आचार्यले सडकखण्डमा पर्ने रुख हटाउने र नयाँ बिरुवा रोप्न चार करोड रुपैयाँ छुट्याइएको बताए । यस सडकखण्डमा ३० वटा पुल बन्नेछन् । त्यस्तै, बजार क्षेत्रमा सडक पार गर्न सहजताका लागि ओभरहेड ब्रिज पनि बन्नेछन् । यस सडकखण्डमा एक सय ४९ कल्भर्ट तथा ६ अन्डरपास बन्नेछन् । पुल, क्रसिङदेखि सर्भिस लेनको काम गरेपछि बिचको सडक भत्काउने र बनाउने काम अगाडि बढाइने भएको छ । सडक विस्तारको काम सुरु भएपछि बिचसडकको काम नथाल्दैबाट नै सडकमा खाल्टाखुल्टी परेमा मर्मत–सम्भारको काम पनि निर्माण व्यवसायीले गर्ने आयोजनाले जनाएको छ ।