भक्तपुरमा कार र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

बिहिबार, १० माघ, २०८१
डिजिटल संस्करण

भक्तपुरमा कारसँग मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका– ६ घर भई पेप्सीकोलामा बस्दै आएका २९ वर्षीय राजु राईकी श्रीमती २३ वर्षीया सपना राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए ।

मध्यपुरथिमि नगरपालिका– २ दिव्येश्वरीस्थित क्षमावती ग्रुप कम्पनीअगाडि पेप्सीकोलाबाट मगरगाउँतर्फ जाँदै गरेको बा.प्र ०१–०२७ च ९२७ नम्बरको कारलाई सोही दिशातर्फ जाँदै गरेको बा–५० प– ७४१ नम्बरको मोटरसाइकलले गत सोमबार ठक्कर दिएको थियो ।

श्रीमती र तीन वर्षीय छोरीलाई पछाडि राखेर राजुले नै उक्त मोटरसाइकल कुदाइरहेका थिए । दुर्घटनापछि घाइते भएकी श्रीमती राईलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज पुर्याइएको थियो । उपचारकै क्रममा बुधबार उनको मृत्यु भएको सूचना अधिकारी पौडेलले बताए । दुर्घटनामा घाइते छोरी ईश्वरी राई भने डिस्चार्ज भएकी छिन् । प्रहरीले कारचालक बुढानीलकण्ठ– ४ का कृष्णप्रसाद गौतमलाई नियन्त्रणमा लिएको छ ।

सुझावित समाचार