थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सदभाव थिएटरको नाटक ‘अनुत्तर’ (An Enigma)ले नेपालको प्रतिनिधित्व गर्ने भएको छ। यही माघ १० (जनवरी २३) देखि सुरु हुने मोराडोक–माई अन्तर्राष्ट्रिय रंगमञ्च महोत्सवमा ‘अनुत्तर’ छ।
देश, जीवन र भविष्यसँगको मझधारमा धुल्मुलिएर आफैँ हराएका नागरिकता भिरेका ‘अनागरिक’हरूको कथावस्तुलाई नाटकले प्रस्तुत गर्ने कोसिस गरेको छ।
राम केएसीको लेखन तथा निर्देशन रहेको नाटकलाई सुशीलालक्ष्मी महर्जनले सहनिर्देशन गरेकी छिन्। रंगकर्मी किरण चापागाईंको एकल प्रस्तुति रहेको नाटक स्थानीय समयअनुसार साँझ ७ बजे थाइल्यान्डको ग्रान्डपा थिएटर हलमा मञ्चन हुनेछ। यस नाटकमा प्रकाश र संगीत संयोजन टीकाभक्त जिरेलले गरेका छन्।
यसअघि यो नाटक नेपालमा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा नियमित मञ्चन भएको थियो।