फेसबुकमा लेखेको भन्दै तारकेश्वरका मेयरले सोधे वडाध्यक्षलाई स्पष्टीकरण

वडाध्यक्ष भन्छन्– वैधानिक रूपमा राखिएको आवाज सम्बोधन नभएपछि फेसबुकमा लेखेँ

मंगलबार, ८ माघ, २०८१
डिजिटल संस्करण

तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले शिष्टाचार उल्लंघन गरी फेसबुकमा लेखेको भन्दै वडा नम्बर ५ का अध्यक्ष शम्भुप्रसाद फुँयाललाई स्पष्टीकरण सोधेका छन् । उनले तीन दिनभित्र स्पष्टीकरण पेस गर्न २ माघमा पत्र पठाएका थिए ।

पत्रको जवाफ वडाध्यक्ष फुँयालले सोमबार पेस गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा फोहोरमैलाबारे लेखेर शिष्टाचार उल्लंघन गरेको भन्दै मेयर महर्जनले वडाध्यक्ष फुयाँललाई तीन दिनभित्र स्पष्टीकरण दिनका लागि २ माघमा पत्र पठाएका थिए । सोही पत्रको जवाफस्वरूप फुँयालले वैधानिक रूपमा राखिएको आवाज सम्बोधन नभएका कारण फेसबुकमा लेखेको जवाफ दिएका छन् । उनले कुनै नीति–नियमको बर्खिलाप हुने काम नगरेको दाबी पनि गरेका छन् । ‘नगरपालिकाभित्र रहेका अनगिन्ती समस्या र तिनको समाधानका विषयमा हामीले गहन छलफल र त्यसको समाधान खोज्न धेरै प्रयास गरेका छौँ । नगरपालिकाभित्र फोहोरको समस्या गम्भीर अवस्थमा छ । नगरभित्र कुन माध्यमबाट फोहोर उठेको छ भनेर वैधानिक प्रक्रियाबारे नगरपालिकामा पटक–पटक प्रश्न गरेकै छुँ,’ फुयाँलले स्पष्टीकरणमा भनेका छन्, ‘फेसबुक पोस्ट व्यक्तिगत लाभ प्राप्त गर्ने उद्देश्यले नभई सम्पूर्ण नगरवासीप्रति नगर कार्य समितिलाई जनउत्तरदायी बनाउने उद्देश्यले गरेको हुँ । कुनै नीति–नियमको बर्खिलापमा नरहेको प्रस्ट पार्दछु ।’ 

उनले मेयर महर्जनकै कार्यकक्षमा फोहोरमैलाबारे काम गरिरहेको संस्थालाई बोलाएर कुरा गर्दा बेवास्ता गरेकोसमेत आरोप लगाए । ‘तारकेश्वर नगरपालिकामा वार्षिक रूपमा जनताले फोहोरमैलाको नाममा सात करोड बुझाउँछन् । कसलाई बुझाउँछन् थाहा छैन । हिजोको मेयर पनि चुप, आजका पनि चुप,’ २९ पुसमा सामाजिक सञ्जाल फेसबुकमा उनले यस्तो लेखेका थिए । त्यसपछि मेयर महर्जनले स्थानीय सरकार सञ्चालन ऐन, ०७४ को दफा ११२ को उपदफा २ बमोजिम सार्वजनिक शिष्टाचार उल्लंघन गरेको भन्दै फेसबुक पोस्टसँग सम्बन्धित सत्यतथ्यसहितको यथार्थ विवरण तीन दिनभित्र कार्यालयमा पेस गर्न भनेका थिए । 

वडाध्यक्ष फुयाँलको प्रतिप्रश्न– अनुमतिविना नै फोहोर संकलन किन ?
नगरपालिकाभित्र फोहोर संकलन गर्ने कम्पनीले विनाअनुमति किन संकलन गरिरहेको छ ? भन्दै वडाध्यक्ष फुँयालले मेयर महर्जनलाई प्रतिप्रश्न गरेका छन् । उनले नगरपालिकाभित्र फोहोर संकलन गर्ने कम्पनीले अनुमति नलिएको आरोप लगाएका छन् । ‘नगरपालिकाभित्र विभिन्न निजी कम्पनीको नाममा स्थानीयको घरबाट फोहोर संकलन गर्दै आएको र प्रतिघर मासिक तीन सय संकलन भइरहेको जनाएका छन् । उक्त कम्पनीहरूले हालसम्म नगरपालिकाबाट वैधानिक रूपमा अनुमति नलिएको विषयमा चासो राख्नु एक जनप्रतिनिधको कर्तव्य होइन र ? आमनागरिकले उठाउने सुशासन र पारदर्शिताको विषयमा बोल्न, लेख्न नगरपालिकाको अनुमति लिनुपर्ने हो ?’ उनले भने । नगरपालिकाभित्र करिब ४१ हजार घरबाट प्रतिघर तीन सयको दरले एक करोड २४ लाख मासिक संकलन हुने गरेको छ । प्रतिमहिना संकलित रकमबाट हालसम्म नगरपालिका लाभान्वित हुने गरी कुनै काम नभएको उनले बताए । मेयर महर्जनले भने सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर भ्रम नपरोस् भनेर विवरण माग गरेको बताए । ‘खाएको विष लाग्छ, नखाएको लाग्दैन । उहाँले सामाजिक सञ्जालमा लेखेपछि मान्छेमा भ्रम सिर्जना नहोस् भनेर विवरण माग गरिएको हो । स्पष्टीकरण होइन,’ उनले भने, ‘हामीबिच बाहिर आएजस्तो व्यक्तिगत समस्या केही छैन ।’

सुझावित समाचार