पहिलो खो–खो विश्वकपको दुईवटै फाइनलमा नेपाललाई भारत बाधक

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

नेपालका पुरुष तथा महिला टोली पहिलो संस्करणको खो–खो विश्वकपको उपविजेता बनेका छन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी इन्डोर हलमा आइतबार भएको दुवैतर्फको फाइनलमा नेपाल आयोजक भारतसँगै पराजित भएको हो । पुरुष फाइनलमा नेपाल भारतसँग ५४–३६ अन्तरले पराजित भयो । यसअघि महिलातर्फको फाइनलमा भारतले नेपालमाथि ७८–४० को जित निकालेको थियो । खो–खो विश्वकपमा पुरुषमा २० र महिलामा १९ राष्ट्रले भाग लिएका थिए ।

पुरुषतर्फको उपाधि भिडन्तमा भारतले दुवै इनिङ्समा अट्याकिङमा धेरै अंक बटुलेको थियो । पहिलो इनिङ्समा भारतले अट्याकिङबाट २६ अंक र दोस्रो इनिङ्समा २८ अंक जोडेको थियो । नेपालले दुवै इनिङ्समा समान १८ अंक हात पारेको थियो । पहिलोपटक आयोजना भएको खो–खो विश्वकपमा दक्षिण एसियाका दुई राष्ट्र नेपाल र भारत उपाधि भिडन्तमा पुगेका थिए । अन्तर्राष्ट्रिय खेलकुदमा नेपालले टिम इभेन्ट प्रतिस्पर्धामा पहिलोपटक विश्वकप फाइनलमा स्थान सुरक्षित गरेको हो । खो–खोबाहेक टिम इभेन्टको अन्तर्राष्ट्रिय खेलमा नेपालको पुरुष र महिला क्रिकेट टोलीले विश्वकपमा स्थान बनाएका छन् । तर, यी क्रिकेट टोलीले फाइनलमा स्थान बनाएका छैनन् ।

समूह चरणमा पनि भारतसँगै पराजित
पुरुषतर्फको उद्घाटन खेलमा नेपाल भारतसँग मात्र पराजित भएको थियो । भारत अपराजित रहँदै विश्व च्याम्पियन बन्यो । प्रतियोगितामा नेपालले दुईवटै खेल भारतसँग मात्र गुमायो । फाइनलमा नेपालसामु घरेलु टोली भारतसँग बदला लिने अवसर थियो । तर, उपाधि भिडन्तमा भारतीय खेलाडीले घरेलु समर्थक र कोटको फाइदा उठाउँदै नेपाललाई सहजै पराजित ग¥यो ।

पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता हुँदै क्वार्टरफाइनल पुगेको थियो । नेपाल समूह उपविजेता हुँदा नेपालले चार खेलमा ६ अंक जोडेको थियो । पहिलो खेलमा भारतसँग नेपाल ४२–३७ ले पराजित भएको थियो । त्यसपछि नेपालले समूह चरणदेखि सेमिफाइनलसम्म उत्कृष्ट खेल प्रस्तुत ग¥यो । नेपालले दोस्रो खेलमा पेरुलाई ८०–३४ ले हरायो । तेस्रो खेलमा ब्राजिललाई १३४–८ ले पाखा लगाएको नेपालको पुरुष टोलीले चौथो खेलमा भुटानलाई ९८–८ अन्तरले हराउँदै अन्तिम आठको यात्रा पक्का ग¥यो । नेपालले सेमिफाइनल प्रवेशको खेलमा बंगलादेशलाई ६७–१८ को अन्तरले हरायो । नेपालले सेमिफाइनलमा इरानलाई ७२–२० ले पराजित गर्दै ऐतिहासिक यात्राका रूपमा फाइनल स्थान पक्का ग¥यो । भारतले समूह चरणमा ब्राजिललाई ६४–३४, पेरुलाई ७०–३८ र भुटानलाई ७१–३४ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको थियो । भारतले क्वार्टरफाइनलमा श्रीलंकालाई १००–४० ले पराजित ग¥यो । आयोजक भारतले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ६०–४२ ले पाखा लगाएको थियो । 

अपराजित यात्रा फाइनलमा रोकियो 
खो–खो विश्वकपमा नेपालको महिला टोलीको अपराजित यात्रा फाइनलमा रोकियो । समूह चरणदेखि सेमिफाइनलमा विपक्षीमाथि एकपक्षीय नतिजा निकालेको महिला टोली उपाधि भिडन्तमा भारतसँग फराकिलो अन्तरले पराजित भयो । घरेलु टोली भारतले पहिलो इनिङ्सदेखि नेपालमाथि दबाब बनाएको थियो । भारतले पहिलो इनिङ्समा ३२ अंक र दोस्रो इनिङ्समा ४० अंक बटुलेको थियो ।

नेपालले पहिलो इनिङ्समा २४ अंक मात्र जोडेको थियो । नेपालले दोस्रो इनिङ्समा १६ अंक मात्र जोड्दा भारतले ड्रिम रनमा ५ अंक थपेको थियो । नेपाली महिला टोली समूह ‘सी’को विजेता बनेको थियो । नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले हराएको थियो । दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले पाखा लगाएको नेपालले तेस्रो खेलमा श्रीलंकालाई ११०–१० को फराकिलो अन्तरले पराजित ग¥यो ।

नेपालले समूहको अन्तिम खेलमा बंगालादेशलाई ८४–२४ ले हराएको थियो । नेपालले क्वार्टरफाइनलमा इरानलाई १०३–८ ले निराश बनाउँदै सेमिफाइनल स्थान पक्का ग¥यो । फाइनल प्रवेशको खेलमा नेपाली महिला टोलीले युगान्डालाई ८९–१८ ले हराउँदै पहिलो संस्करणमै फाइनल स्थान पक्का ग¥यो ।

उपविजेता टोलीले ४५ लाख पाउने
खो–खो विश्वकपमा उपविजेता बनेका नेपाली पुरुष र महिला टोलीले सरकारबाट समान ४५ लाख रुपैयाँ पाउने खेलकुद विकास नियमावली, २०७९ मा उल्लेख छ । नियमावलीमा अन्तर्राष्ट्रिय महासंघ (आइएफ) विश्व च्याम्पियनसिप खेलको सामूहिक प्रतिस्पर्धातर्फ स्वर्ण पदक जित्नेले ५२ लाख तथा रजत पदक जित्नेले ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ । खो–खो विश्वकप पनि आइएफको सामूहिक खेलमा पर्छ । खेलकुद विकास नियमावलीमा विश्वकपका खेललाई ओलम्पिकसरह मानिएको छ ।

नियमावलीमा व्यक्ति इभेन्टमा स्वर्ण जित्दा एक करोड ३० लाख, रजत हात पार्दा ९७ लाख र कांस्य पदक विजेतालाई ६५ लाख दिने व्यवस्था छ । खेलकुद नियमावलीअनुसार गत वर्ष पेरिस पारा ओलम्पिकमा कांस्य पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धनले ६५ लाख रुपैयाँ पाएकी थिइन् । नियमावलीअनुसार खेलाडी मात्र नभएर प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो र खेल संघले पनि पुरस्कार पाउनेछन् । जसअनुसार स्वर्ण जिते प्रशिक्षकले १३ लाख र रजत जिते सात लाख ८० हजार प्राप्त गर्नेछन् । विश्वकपमा रजत जितेको नेपाल खो–खो संघले सरकारबाट १५ लाख ६० हजार पाउनेछ । 

राखेपमा ०६८ मा दर्ता खो–खो संघ
राष्ट्रिय खेलकुद परिषद्मा ०५२ मा डा. रामकृष्ण महर्जनको अध्यक्षतामा खो–खो संघको तदर्थ समिति दर्ता भएको थियो । तदर्थ समिति बन्नुअघि यो खेल पाठ्यक्रममा पनि समावेश थियो । संघ गठनपछि नेपालमा खो–खोको गतिविधि सुरु भएको हो । ०६८ मा संघ राखेपमा विधिवत् रूपमै दर्ता भयो । प्रदीप महर्जनले पहिलो अधिवेशनबाट नेतृत्वको जिम्मेवारी पाएका थिए । अहिले ६ प्रदेश र ३८ जिल्लामा खो–खोको संघ गठन भइसकेको छ । कर्णाली प्रदेशमा संघ गठन हुने तयारीमा छ ।

सुझावित समाचार