स्रष्टा गोपी मैनाली सम्मानित

आइतबार, ६ माघ, २०८१
डिजिटल संस्करण

नेपाल सरकारका पूर्वसचिव एवं स्रष्टा गोपी मैनाली खिलशर्म–राजीवलोचन जोशी स्मारक प्रतिष्ठानबाट सम्मानित तथा पुरस्कृत भएका छन्। प्रतिष्ठान कार्यालयमा शनिबार आयोजित कार्यक्रममा उनलाई नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याएको भन्दै सम्मान तथा पुरस्कृत गरिएको हो।

प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तमराज जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा मैनालीले नेपाली साहित्यमा पुर्‍याएको योगदानको चर्चा गर्दै प्राज्ञ दिनेशराज पन्तले नेपाली साहित्यमा मैनालीका निबन्ध र समालोचनाका मौलिक प्रयोग भएको बताए। उनले नेपालको प्रशासन क्षेत्रमा मैनालीलाई जसरी गरिमाका रूपमा हेरिन्छ, समालोचना, निबन्ध र कथामा पनि उस्तै स्थान रहेको बताए। डा. पन्तले भने, ‘उनका कथामा सामाजिक मनोविश्लेषण छ। निबन्धमा भावनात्मक उडान छ। समालोचनामा गहन मूल्य विश्लेषण र अन्वेषणत्मक घनत्व छ। मैनाली साहित्य र राष्ट्रसेवाको अनुकरणीय नाम हो।’ 

नेपाली शिक्षा परिषद्की अध्यक्ष प्राध्यापक रमा शर्माले स्रष्टा मैनालीलाई सम्मान गर्न पाउँदा पुरस्कारको समेत सम्मान भएको उल्लेख गरिन्।

कार्यक्रममा सष्टा मैनाली पुरस्कारले आफूलाई साहित्य सिर्जनामा झनै दायित्व थपेको बताए। कार्यक्रमको सञ्चालन स्रष्टा कोषराज न्यौपानेले गरेका थिए भने कार्यक्रममा वरिष्ठ साहित्यकारहरू रोचक घिमिरे, विजय चालिसे, महेश खकुरेल, युवराज मैनाली, कलानिधि दाहाल, ठाकुर शर्मा भण्डारी, डा. अर्जुनदेव भट्ट, डा. गोविन्द टण्डन, हरिभक्त सिग्देल महेश, नरेन्द्रराज पौडेल, कल्पना दाहाल, पवन बुढाथोकी, सच्युत भुम्लीलगायत स्रष्टा, साहित्यसेवी, पत्रकार र पूर्वप्रशासकहरूको उपस्थिति थियो। 

पहिलोपटक उक्त पुरस्कार वरिष्ठ समालोचक डा. ईश्वर बराललाई प्रदान गरिएको थियो। २६औँ पुरस्कार वरिष्ठ समालोचक/कथाकार गोपी मैनालीलाई प्रदान गरिएको हो। उक्त पुरस्कारमा सम्मानपत्र र २५ हजार नगद समावेश छ।

स्रष्टा मैनालीका विश्रृंखलित सपना (कथा), रमेश विकल : समालोचनात्मक अन्वेषण (समालोचना), घाउ आफैँलाई दुख्छ (निबन्ध), अभिव्यञ्जना यात्राप्रति (समालोचना), अपेक्षा र अनुभूति (निबन्ध), युगकवि सिद्धिचरण : कृति र प्रवृत्ति विश्लेषण (समालचोना), आँखाभरि रमिता, मनभरि वेदना (नियात्रा), मेरी प्रिन्सेस र सानो संसार (नियात्रा) लगायतका कृति प्रकाशन छन् ।

सुझावित समाचार