बर्दिबास नगरपालिका–१४ स्थित रातु नदीकिनारमा करिब ३९ बिघा जग्गामा बर्दिवास नगरपालिकाले गौरवको योजनाअन्तर्गत बनाउने भनिएको फनपार्क जग्गा अधिग्रहणअघि नै विवादित बनेको छ। ३६ बिघा ऐलानी जग्गा प्राप्तिको लागि प्रक्रियाअघि बढेको र थप तीन बिघा जग्गा व्यक्तिको अधिग्रहण गर्न थालेपछि विवादमा परेको हो।
फनपार्कको लागि २८ जनाको निजी जग्गा अधिग्रहणको लागि गोरखापत्रमा सूचना प्रकाशित भएपछि जग्गाधनीहरूले भूमाफियाहरूको चलखेल भई आफूहरूको जग्गा कम मूल्यांकन गरी अधिग्रहण गर्न लागेको आरोप लगाएका छन्। उनीहरूले जग्गा अधिग्रहण गरी आफूमाथि अन्याय भैरहेको भन्दै न्यायको लागि पहल गरिदिन सञ्चारकर्मी गुहारेका छन्।
जग्गाधनी गंगाराम खड्काले सहमतिविना नगरपालिकाले मालपोतबाट जग्गा रोक्कासमेत गराएको सुनिएको बताए। उनले फनपार्क निर्माणको नाममा चलखेल हुन लागेको बताए। नगरपालिकामा सबै जग्गाधनीले जग्गा दिन नसक्ने भन्दै निवेदन दिएकाले अन्य विकल्पमा जान पालिकालाई आग्रह गरेको उनको भनाइ छ। जग्गाधनीहरूले भन्दै आएका छन्– आफूहरूको जग्गाको विकल्प खोज्नुपर्ने, सहमतिविनै जग्गा रोक्का गर्न नमिल्ने र जबर्जस्ती अधिग्रहण गर्ने प्रक्रियमा गए कानुनी प्रक्रियामा जानेछौँ।
नगरले मुआब्जासमेत निर्धारण नगरी जग्गा रोक्का गर्नु गलत भएको स्थानीय गंगाराम खर्गाले बताए । नगरले आफूहरूको आवाज नसुने कानुनी प्रक्रियाबाट अघि बढ्ने उनले बताए । उनले भने, ‘नगरआसपास करिब हजार बिघाभन्दा बढी सरकारी ऐलानी, पर्ति जग्गा हुँदाहुँदै यहाँ पार्क बनाउने सोच्नु गलत हो। नगरबाट ५, ७ किलोमिटरको दूरीमा किसान नगर, हात्तीलेट, पाटु, माइस्थानआसपासको मनोरम प्राकृतिक स्थलमा फनपार्क बनाए नगरको आर्थिक समृद्धि हुन्छ।’
अर्का स्थानी विनोद पौडेलका अनुसार सरकारी जग्गा हुँदाहुँदै जग्गाधनीलाई कुनै छलफल नगरी १५ दिने सूचनाको नाममा महोत्तरी जिल्ला प्रशासन कार्यालयले सात दिनभित्र निवेदन हाल्न आउनु भनेर अस्पष्ट भाषामा मुआब्जाको सूचना निकाल्नु भनेको जिल्ला प्रशासन कार्यालय महोत्तरी समेतको टिम, क्रसर व्यवसायी बर्दिवास नगरपालिकाका मेयर एवं अन्य गिट्टी बालुवा माफिया (भूमाफिया )को मिलेमतोमा परेका छन्।
बर्दिवास नगरपालिकाले भने उक्त जग्गामा गौरवको योजनाअन्तर्गत फनपार्क बनाउने प्रक्रिया सुरु भएको जनाएको छ। नगरका प्रवक्ता विजय महतोले चारैतिर सरकारी जग्गा रहेको र उक्त जग्गा उत्तम भएको बताए। पार्क बनाउन आवश्यक जग्गामा केही निजी जग्गा परेकाले त्यसलाई उचित मूल्यांकन गरी मुआब्जा दिने तयारी भइरहेको उनले बताए। उनले गौरवको योजनामा सबैलाई सघाउनसमेत आग्रह गरे। बर्दिवास नगरपालिकाले कुनै भूमाफिया वा अन्यको बहकाउमा नभई नगरलाई समृद्ध बनाउन आवश्यक कार्य थालेको बताए।
