आगामी फागुन २३ गते रिलिज हुने नेपाली चलचित्र ‘होस्टेल ३’को गीत ‘टिक टिक टिक’ सार्वजनिक गरिएको छ।
शुक्रबार सार्वजनिक गीतमा अलमोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ। यसमा अलमोडासँगै सन्तोष राणाले र्याप भोकल दिएका छन्। गीतमा कलेज जीवनका उतारचढावलाई संगीतमय रूपमा उजागर गर्दै विविध पृष्ठभूमिका साथीहरूबिचको सम्बन्धलाई प्रस्तुत गरिएको छ।
चार मुख्य अभिनेताहरू पारस बम (कुलब्वाई), रिहान गिरी, आशिष घिमिरे र पदम तामाङ तथा अभिनेत्रीहरू सिमरन पन्त, हेना नगरकोटी र समा पराजुली तथा फिचर्ड गीतमा प्रवीण सिंहले कोरियोग्राफी गरेका छन्।
सशान कँडेलले निर्देशन गरेको चलचित्रको स्क्रिप्ट माधव शर्माले लेखेका हुन्। निर्देशक कँडेलकै कथा रहेको चलचित्रमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको पनि अभिनय छ।
चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो। निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शंकर कोइराला हुन्। सहनिर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनिश सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री हुन्।
यो चलचित्र फागुन २३ गते नै नेपालबाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ। नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन्।