६ महिनामा वैदेशिक लगानी प्रतिबद्धता १५ प्रतिशत वृद्धि

३५४ उद्योगमार्फत पौने २६ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता प्राप्त

शुक्रबार, ४ माघ, २०८१
डिजिटल संस्करण

मन्दीमा फसेको अर्थतन्त्र बिस्तारै तंग्रिन थालेसँगै विदेशी लगानी प्रतिबद्धता पनि बढ्न थालेको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता १५.४० प्रतिशतले बढेको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार ६ महिनामा विभिन्न देशबाट तीन सय ५४ उद्योगमा २५ अर्ब ७८ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । गत आवको सोही अवधिमा दुई सय २६ उद्योगमार्फत २२ अर्ब ३४ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको थियो । यस वर्ष विदेशी लगानी हुने उद्योगहरूको संख्या पनि एक सय २८ वटाले बढेका छन् । 

पछिल्लो समय आयात–निर्यातसँगै उद्योगको उत्पादन पनि बढ्न थालेको छ । सेयर बजारदेखि घरजग्गा कारोबारसम्मले गति लिन थालेका छन् । यसले विदेशी लगानीकर्तामा आत्मविश्वास बढ्न थालेको निजी क्षेत्रको बुझाइ छ ।

६ महिनामा दुई अर्ब ३८ करोड रुपैयाँ एफडिआई अटामेटिक रुटबाट स्वीकृत भएको छ । जसमा एक सय ५४ उद्योग तथा परियोजना रहेका छन् । यस्तै, दुई सय परियोजनाको २३ अर्ब ३९ करोड रुपैयाँ एफडिआई नियमित रुटबाट स्वीकृत भएको विभागले जनाएको छ । पुसमा मात्रै ३५ परियोजनामार्फत पाँच अर्ब रुपैयाँ एफडिआई प्रतिबद्धता आएको देखिन्छ । विदेशी लगानीका उद्योगमध्ये अधिकांश साना रहेका छन् । तीन सय ४५ उद्योग साना, पाँचवटा मझौला र चारवटा ठूला उद्योगमा विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो । विभागका अनुसार विदेशी लगानीका सबैभन्दा धेरै परियोजना पर्यटन क्षेत्रतर्फ एक सय ५७ रहेका छन्, जसमा कुल एफडिआई प्रतिबद्धताको ४४ प्रतिशत हिस्सा रहेको छ । 

आइसिटी क्षेत्रतर्फ एक सय १९ (३४ प्रतिशत लगानी), सेवा क्षेत्रतर्फ ४५ (१३ प्रतिशत लगानी), पूर्वाधारतर्फ दुई, उत्पादनमूलक क्षेत्रतर्फ २५ (७ प्रतिशत लगानी), कृषि तथा वनतर्फ ६ (२ प्रतिशत लगानी) परियोजना रहेका छन् । 

विभागले ६ महिनाको अवधिमा २१ सय १७ लगानीकर्ता, २०१ विदेशी प्रतिनिधि र ५१३ डिपेन्डेन्टलाई बिजनेस भिसा प्रस्ताव गरेको जनाएको छ । गत आवको सोही अवधिमा १६ सय ५६ लगानीकर्ता, १६८ प्रतिनिधि र ४८८ डिपेन्डेन्टलाई बिजनेस भिसा प्रस्ताव गरेको थियो । 

सुझावित समाचार