नेपाल पुलिस जय ट्रफी च्याम्पियन

बिहिबार, ३ माघ, २०८१
डिजिटल संस्करण

नेपाल पुलिस क्लब जय ट्रफी एलिट कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । वीरगन्जको नारायणी रंगशालामा फाइनलको तेस्रो तथा अन्तिम दिन बिहीबार पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई २८ रनले निराश बनाउँदै उपाधि जितेको हो । उपाधि भिडन्त तीन दिनसम्म चलेको थियो । पुलिसले दोस्रो इनिङ्समा आर्मीलाई १०३ रनको झिनो लक्ष्य दिएको थियो । 

तर, स्पिनरद्वय सागर ढकाल र ललित राजवंशीको घातक बलिङ सामना गर्न नसक्दा विनोद भण्डारीको कप्तानीमा रहेको आर्मी २९.२ ओभरमा ७४ रनमा समेटियो । पुलिसलाई च्याम्पियन बनाउने क्रममा सागरले १४.२ ओभरमा सर्वाधिक ६ विकेट लिए । ललितले १५ ओभरमा ३९ रन खर्चेर चार विकेट लिए । पुलिसका कप्तान कुशल भुर्तेलले लक्ष्य रक्षा गरेको इनिङ्समा सागर र ललितलाई मात्र बलिङ गर्न लगाए । ललितले दुई तथा सागरले एक मेडन ओभर फ्याँके । 

नेपाल पुलिस क्लब गत वर्षको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटको पनि च्याम्पियन हो । पिएम कपको फाइनलमा पनि पुलिसले आर्मीलाई नै हराएको थियो । जय ट्रफीमा पुलिस, आर्मीसँगै बागमती र मधेश प्रदेशले प्रतिस्पर्धा गरेका थिए । बागमती तेस्रो तथा मधेश चौथो स्थानमा सीमित भए । प्रतियोगिताको अंकतालिकाको शीर्ष दुई टोली फाइनलमा पुगेका थिए । 

आर्मीका साहब उत्कृष्ट खेलाडी 
उपविजेता भएको आर्मीका स्पिनर साहब आलम सर्वोत्कृट खेलाडी बनेका छन् । प्रतियोगितामा उनले सर्वाधिक ३३ विकेट लिए । राउन्ड रोबिन लिगमा उनले तीन खेलमा २१ तथा फाइनलमा १२ विकेट लिएका हुन् । उनले पुलिसविरुद्धको फाइनल खेलको पहिलो इनिङ्समा सात र दोस्रोमा पाँच विकेट लिएका थिए । प्रतियोगितामा उनी नै उत्कृष्ट बलर भएका छन् । प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान मधेशका मयन यादव भए । 

 स्पिनरविरुद्ध खेल्न नसकेको आर्मी
पुलिसले दोस्रो इनिङ्समा सबै विकेट गुमाएर १३९ रन जोडेको थियो । आर्मीले अन्तिम सेसनमा जितका लागि १०३ रनको लक्ष्य पायो । आर्मीसँग आधा दिनजसो ब्याटिङ गर्ने अवसर थियो । तर, पुलिसका सागर र ललितको जादुमयी स्पिनमा आर्मीका कुनै पनि खेलाडी क्रिजमा लामो समयसम्म टिक्न सकेनन् । ललित र सागरले आर्मीलाई २९.२ ओभरमा समेटिदिए । विकेटको दुवै छेउबाट लगातार स्पिनरले बलिङ गरिरहँदा आर्मीका ब्याट्सम्यानले धैर्य गुमाए । इनिङ्सको छैटौँ बलमै आर्मीले त्रितराज दासलाई गुमाएको थियो । 

त्यसपछि आर्मीको विकेट पतन सुरु भयो । आर्मीको ब्याटिङमा इमरान शेखले सर्वाधिक २८ रन बनाउन ५१ बलको सामना गरे । कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए । आर्मीका सात खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ललित र सागरले आ–आफ्नो स्पेलमा अतिरिक्त रन पनि दिएनन् । पुलिसले पहिलो इनिङ्स १३३/९ र दोस्रो इनिङ्समा १३९ रनको योगफल बनाएको थियो । 

रणनीतिअनुसार खेलेर नै जितेका हौँ : आरिफ शेख, कप्तान, पुलिस 
अन्तिम दिनको विकेट सजिलो हुँदैन । जय ट्रफी जितेपछि हामीहरूको आत्मबल बढेको छ । आगामी प्रतियोगितामा यस्तै रणनीतिअनुसार खेल्नेछौँ । फाइनलको तीनदिवसीयको अन्तिम दिन सयभन्दा बढी रनले अग्रता लिँदा खेल एकपक्षीय हुने विश्वास भयो । पिच पहिलेको भन्दा अहिले धेरै राम्रो भएको छ । यसपटकका क्यान, पर्सा र स्थानीय सरकारले मैदान बनाउन राम्रो मिहिनेत गरेका छन् ।

खेलाडीबिच साझेदारी भएन : विनोद भण्डारी, कप्तान, आर्मी
हामीहरूले जय ट्रफी गुमाउनुको मुख्य कारण नै खेलाडीबिच साझेदारी नहुनु हो । कुनै पनि विकेटका लागि गतिलो साझेदारी हुँदा सहजै जित निकाल्न सकिन्थ्यो । तर, सोचेजस्तो ब्याटिङ र साझेदारी भएन । विगतको अवस्था सोचेर क्रिकेट खेलिँदैन । यो नियमित रूपमा यस्तो खेल हुँदा सबैलाई सहज हुनेछ । प्रतियोगितामै लेग स्पिनर नै हाबी भए । पुलिस र आर्मीका स्पिनरहरूले नै सबैजसो विकेट लिएका छन् । 

जय ट्रफी नियमित हुनेछ : चतुरबहादुर चन्द, अध्यक्ष, क्यान
पछिल्लो समय लगातार प्रतियोगिता भइरहेका छन् । यसले भौतिक संरचना बनाउन सरकारलाई दबाब भएको छ । नेपाललाई टेस्ट मान्यता दिलाउन यस किसिमको फम्र्याटमा क्रिकेट प्रतियोगिता हुनुपर्छ । नेपाल पनि टेस्ट खेल्न सक्छ भन्ने सन्देश दिन जय ट्रफीजस्तो प्रतियोगिता नियमित गराउनुपर्छ । भौतिक पूर्वाधार क्यानले बनाउन सक्दैन । सरकारलाई यस्तो प्रतियोगिता गराएर दबाब सिर्जना गर्न सक्छ । 

सुझावित समाचार