विभिन्न जिल्लामा १० सवारी दुर्घटना, ११ जनाको मृत्यु

मृत्यु हुने सबै मोटरसाइकलका चालक र यात्रु

बुधबार, २ माघ, २०८१
डिजिटल संस्करण

विभिन्न जिल्लामा भएका १० दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन्। धेरै दुर्घटना तराईका जिल्लामा भएका छन्। मंगलबार बेलुका तथा बुधबार भएका यी दुर्घटनामा मृत्यु हुनेहरूमा १० जना मोटरसाइकलचालक र एकजना मोटरसाइकलमा सवार यात्रु हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार बारामा मात्र तीनवटा दुर्घटना भएका छन्। 

फेटा गाउँपालिका– ३ फेटा बजारस्थित सडकमा प्र.२–०३–००१ त २७७६ नम्बरको ट्याक्टरले बिआर ०५ एएफ ०६४३ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकलचालक भारत बिहार राज्य मोतिहारी बस्ने ३० वर्षीय मिन्टु रामको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टरचालक फरार भएका छन् ।

बाराकै जितपुर सिमरा उपमहानगरपालिका– २ स्थित सडकमा जितपुरबाट सिमरातर्फ आउँदै गरेको ना.२८प ९३४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक पर्सा वीरगन्ज महानगरपालिका– ३१ बस्ने २२ वर्षीय सुशान्त चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको एभरग्रिन तराई अस्पताल सिमरामा उपचार भइरहेको छ ।

बाराको महागढीमाई नगरपालिका– ७ तेलकुवास्थित सडकमा बिआर ०५ एक्स ७९३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक भारत बिहार मोतिहारी आन्द्रा बस्ने ३८ वर्षीय रामबाबु पाठकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिराहाको नरहा गाउँपालिका– ३ चौहर्वास्थित सडकमा स.१ प ९४६३ नम्बरको मोटरसाइकल र प्र.१–०२–०५५ प ६१२३ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स.१प ९४६३ नम्बरको मोटरसाइकलचालक मिर्चैया नगरपालिका– १० बस्ने ४५ वर्षीय रघुवीर मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारका लागि विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका प्र.१ ०२–०५५ प ६१२३ नम्बरको मोटरसाइकलचालकलाई थप उपचारका लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ भने सोही मोटरसाइकलमा सवार एकजनाको लाइफ लङ अस्पताल गोलबजारमा उपचार भइरहेको छ ।

बाँकेको राप्तीसोनारी गाउँपालिका– ७ सर्रास्थित सडकमा भे.१ ख ३७७४ नम्बरको बस र भे.६ प ८८३६ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा मोटरसाइकलचालक सोही ठाउँ बस्ने २६ वर्षीय दिलबहादुर थारू र मोटरसाइकलमा सवार २५ वर्षीय राजन थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको नर्सिङहोम नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो ।  फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

नुवाकोट, बेलकोटगढी नगरपालिका– ७ महादेवफाँटस्थित सडकमा प्र.३–०६–०१ प ४६४१ नम्बरको मोटरसाइकल र बा.८४ प ३८३६ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा बा.८४ प ३८३६ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका– ७ रातोमाटे बस्ने १८ वर्षीय आयुष अर्यालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल–भारत मैत्री अस्पताल चाबहिल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्र.३–०६–०१प ४६४१ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका– ७ भलबारीस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.९६ प १० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सियारी गाउँपालिका– १ कैलाशनगर बस्ने ३० वर्षीय भरत केसीको मंगलबार बेलुकी मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । 

बर्दियाको बारबर्दिया नगरपालिका– ५ बर्दियागाउँस्थित सडकमा भे. १२प ५४४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिक– ८ औरी बस्ने २२ वर्षीय विनोद थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ । 
मोरङ, बुढीगंगा गाउँपालिका– २ सक्मास्थित सडकमा प्रदेश १–०२–०४५ प ९३५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका– ४ बस्ने २१ वर्षीय श्याम गडेरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पताल गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । 

पर्साको पटेर्वा सुगौली गाउँपालिका– ४ कर्वोलास्थित सडकमा ना.२८ प ३८१९ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सुदर्शन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल वीरगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
१० मध्ये नौ दुर्घटना तराईका जिल्लामा भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकलका चालक तथा यात्रु रहेको प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार