संविधानकाे ७६(३) मा नजान राष्ट्रपतिलाई ठुलाे दबाब थियाे : प्रचण्ड

मंगलबार, १ माघ, २०८१
डिजिटल संस्करण

वर्तमान सरकारलाई अप्राकृतिक, असंवैधानिक र अपारदर्शीकाे संज्ञा दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पाैडेल संविधानकाे धारा ७६(३) काे सरकार बनाउन अन्तिम समयसम्म प्रतीक्षा गरेर बसेकाे खुलासा गरेका छन् । 

पछिल्लो भेटमा संविधानअनुसार धारा ३ काे सरकार बनाउने चाहना ठुला दलकाे दबाबले तुहिएकाे राष्ट्रपतिले आफूलाई सुनाएको प्रचण्डले दाबी गरे । साताैँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिता उद्घाटनका लागि पर्यटकीय नगरी सुकुटेआएका प्रचण्डले प्रेस सेन्टर सिन्धुपाल्चोकले आयाेजना गरेकाे पत्रकार भेटघाट तथा अन्तर्कियामा यस्ताे धारणा राखेका हुन् । 

‘लाेकतन्त्रकाे अभ्यासमा विश्वभर कहीँ पनि पहिलाे र दाेस्राे ठुला दल मिलेर सरकार बनाएको इतिहास छैन,’ मेराे नेतृत्वको सरकारले गरेकाे भ्रष्टाचारविराेधी अभियान राेक्न कांग्रेस  र एमाले मिलेर सरकार बनाएको जिकिर गर्दै उनले थपे । भ्रष्टाचारीलाई जाेगाउन रातरात अप्राकृतिक गठबन्धन गरेर धारा ३ मा नजान राष्ट्रपतिलाई चाैतर्फी दबाब दिएको उनले खुलाए ।

याे सरकार असंवैधानिक त छँदै छ, भ्रष्टाचारीकाे संरक्षण र सरकारकाे गतिविधिसमेत अपारदर्शी भएकोले चाँडै ढल्ने उनले दाबी गरे । ‘हामी सरकार परिवर्तन गर्ने खेलमा छैनाैँ । तर, सरकारकाे खराब गतिविधिले ऊ आफैँ गिर्न लागेकाे छ,’ उनले भने, ‘सरकारकाे आयु छाेटाे र अनिश्चित छ।’ सरकारकाे गलत रवैया सहन नसकेर सत्तासीन नेपाली कांग्रेस संस्थापन पक्षधर नेताहरू नै सरकारकाे विराेधमा लागिसकेकाे उनले प्रस्ट्याए ।

संवैधानिक परिषद् , विद्युत् प्राधिकरणमा हस्तक्षेप, प्राकृतिक विपत्तिमा बेवास्ता , सदन छलेर अध्यादेशबाट शासन र भ्रष्टाचारीकाे संरक्षण सरकार ढल्ने केही उदाहरण भएको प्रचण्डले  बताए । सदन फेस गर्ने नैतिक धरातल कमजाेर भएको सरकारलाई प्रचण्डले सदन चाँडो खुलाउन मागसमेत गरे ।

सिन्धुपाल्चोककाे सबै सुखदुःखमा साथ रहेकाे बताउँदै प्रचण्डले तातोपानी नाका सहज सञ्चालन गर्न चिनियाँ राष्ट्रपति सिनजिनपिङसँग तीनपटक कुरा गरेकाे जनाए । अरनिको राजमार्गकाे स्तराेन्नति गर्न भाैतिक पूर्वाधार मन्त्रालयमा फाेन गरेर सम्झाएकाे पनि उनले स्मरण गरे । प्रचण्डको साथमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्नि सापकोटा पनि सुकुटे आएका छन् ।

See More On

सुझावित समाचार