अर्थतन्त्रमा देखिएको शिथिलताका कारण व्यापार–व्यवसायसमेत प्रभावित भइरहेको अवस्थामा यहाँ भइरहेका मेला–महोत्सवहरू आर्थिक गतिविधिलाई चलायमान बनाउने र व्यवसाय प्रवर्द्धनको माध्यम बन्न थालेका छन् । हिउँदयाम सुरु भएसँगै कैलालीका सहरी क्षेत्रमा मेला–महोत्सवको रौनक छ ।
पर्यटकीय नगरीका रूपमा चिनिएको टीकापुरमा टीकापुर महोत्सव जारी छ । २५ पुसदेखि सुरु भएको यो महोत्सव ६ माघसम्म सञ्चालन हुनेछ । १७ वर्षदेखि हरेक वर्ष सञ्चालन हुने सुदूरपश्चिम महोत्सव हालै सम्पन्न भएको छ ।
त्यस्तै लम्कीचुहा नगरपालिकामा लम्की महोत्सव, बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया महोत्सव पनि सम्पन्न भइसकेका छन् । भजनी, घोडाघोडी र अत्तरियामा पनि महोत्सव सञ्चालनको तयारी भइरहेको छ । व्यवसाय प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन यी मेला–महोत्सवहरुको महत्त्वपूर्ण भूमिका रहने गरेको छ ।
पुस पहिलो साता धनगढीमा सम्पन्न सुदूरपश्चिम महोत्सवमा करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार भएको छ । आयोजक कैलाली उद्योग वाणिज्य संघका अनुसार करिब साढे चार लाख मानिसले महोत्सव अवलोकन गरेका थिए । पाँच सयभन्दा बढी स्टल रहेको र १४ दिनसम्म चलेको महोत्सवमा काठमाडौंदेखि विभिन्न जिल्लाबाट समेत व्यवसायीहरू सामान बिक्री गर्न आएका थिए ।
कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन मेला–महोत्सवहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँछन् । ‘मेला–महोत्सवमा व्यावसायिक कारोबार हुन्छ । स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुगेको छ,’ ओझाले भने, ‘यसले शिथिल बनेको व्यापार–व्यवसाय र अर्थतन्त्रलाई चलायमान बनाउन थोरै भए पनि सहयोग पुगेको छ ।’
संघले आयोजना गर्ने सुदूरपश्चिममा महोत्सवमा मात्र यस वर्ष करिब १५ करोड रुपैयाँको आर्थिक कारोबार भएको उनले बताए । महोत्सवमा स्थानीय उत्पादन र कृषि उत्पादनलाई प्राथमिकताका साथ प्रदर्शनमा राखिएको थियो । संघले १७ वर्षदेखि धनगढीमा बर्सेनि महोत्सव गर्दै आएको छ । स्थानीय उत्पादनको बजारीकरणमा मेलामहोत्सव सहयोगी बनेका व्यवसायी बताउँछन् । यहाँ बर्सेनि हुने हरेक मेलामहोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने गरिएको छ।
मेला–महोत्सवमा आउने कलाकार र आगन्तुकले स्थानीय होटेलको कारोबारसमेत बढ्ने गरेको छ । लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदम चौलागाईं मेला–महोत्सवहरू व्यापार–व्यवसाय प्रवर्द्धन मात्र नभई स्थानीय कला, संस्कृति चिनाउने थलो पनि बनेका बताउँछन् । यहाँका विकासका मुद्दाहरू उठाउने र सरकारमा रहेका अधिकारीहरूलाई उद्घाटनमा बोलाएर विकासमा दबाब सिर्जना गर्ने थलो पनि मेला–महोत्सवहरू बनेका उनले बताए ।
‘कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर पाउँछन् । महोत्सव यहाँको भाषा, कला, संस्कृति, स्थानीय उत्पादन चिनाउने अवसर पनि हो,’ चौलागाईंले भने, ‘विकासका मुद्दा उठाउने थलो पनि महोत्सव बनेका छन् ।’ सुदूरपश्चिम महोत्सव उद्घाटनमा आयोजकले नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएर सुदूरपश्चिमको विकाससँग सम्बन्धित १० बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
अध्यक्ष चौलागाईंका अनुसार लम्की उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवमा यसपालि करिब ४० हजारजनाले अवलोकन गरेका थिए भने एक सयवटा स्टलबाट करिब डेढ करोडको कारोबार भएको अनुमान छ । संघले महोत्सवमा नमुनाका रूपमा थारू र मगर गाउँ बनाएर अवलोकनको व्यवस्था गरेको थियो ।
टीकापुरमा जारी टीकापुर महोत्सवमा करिब तीन करोडको आर्थिक कारोबार हुने अनुमान आयोजक टीकापुर उद्योग वाणिज्य संघको छ । व्यवसाय प्रवर्द्धनसँगै टीकापुरका मुख्य पर्यटकीय क्षेत्रको प्रचार र सम्भावनाको खोजी गर्ने उद्देश्यले बर्सेनि महोत्सव आयोजना गरिँदै आएको संघका उपाध्यक्ष तथा महोत्सव आयोजक समितिका संयोजक सन्तोष खड्काले बताए । महोत्सवले टीकापुर क्षेत्रको आर्थिक र व्यावसायिक गतिविधि बढ्ने उनको दाबी छ । महोत्सवमा थारू गाउँ तथा कृषि प्रदर्शनी राखिएको छ ।