स्काइवाक टावरले आइपिओ निकाल्ने

अतिथिका लागि ३६० भ्यू रेष्टुरेन्ट, क्लब, सिटी बञ्जी, डोम प्रोजेक्टलगायतका प्रडक्टहरु थप्दै जाने

शनिबार, २७ पुष, २०८१
डिजिटल संस्करण

काठमाडौंको कमलादीमा स्काइवाक टावर सञ्चालन गर्दै आएको बोन्डर्स नेपाल प्रालिले आइपिओ जारी गर्ने भएको छ। शुक्रबार बसेको कम्पनीको सातौँ वार्षिक साधारणसभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरी आइपिओ जारी गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको हो।

प्रवेन्द्र पोखरेलको अध्यक्षतामा कमलादीमा बसेको वार्षिक सधारणसभाले आर्थिक वर्ष ०८०/८१ को वित्तीय विवरण पारित गर्नुका साथै कम्पनीको आगामी ०८१/८२ को व्यावसायिक कार्ययोजनासमेत सर्वसम्मत रूपमा पारित गरेको छ। साधारणसभामा कम्पनीका प्रबन्ध सञ्चालक पदमप्रसाद न्यौपानले भावी कार्ययोजनाबारे प्रस्ट पारेका थिए।

कम्पनीले सञ्चालक समितिको पुनर्गठन गरी अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डेलाई मनोनयन गरेको छ। नवनियुक्त प्रबन्ध निर्देशक पाण्डेले स्काइवाक टावरको जिम्मेवारी बहन गर्नुलाई एक नयाँ अवसरका रूपमा लिएको बताए। 

‘स्काइवाक टावरमा ३६० डिग्री भ्यू देखिने गरी रेस्टुरेन्ट र क्लब निर्माण भइसकेको र शीघ्र सञ्चालनमा ल्याउनेछौँ,’ पाण्डेले भने, ‘अब सिटी बन्जी जम्पका साथै डोम प्रोजेक्टलगायत थप साहसिक गतिविधि विस्तार गरी सेवाको दायरा फराकिलो बनाउँदै लैजाने अठोट छ। 

स्काइवाक टावरलाई काठमाडौंकै मुख्य पर्यटकीयस्थलका रूपमा स्थापित गर्दै लैजाने प्रतिबद्धता पनि जनाए। उनी विदेश मामिला, शैक्षिक संस्था, बैंकिङ क्षेत्रलगायत संस्थाहरूका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवहरू बटुलेका अनुभवी व्यक्ति हुन्।

सुझावित समाचार