आयल निगमका नायव कार्यकारी निर्देशक गोइतलाई सर्वोत्कृष्ट कर्मचारी सम्मान

शनिबार, २७ पुष, २०८१
डिजिटल संस्करण

नेपाल आयल निगमको ५५औं वार्षिकोत्सवमा नायव कार्यकारी निर्देशक वीरेन्द्र गोइत सर्वोत्कृष्ट कर्मचारी सम्मानबाट पुरस्कृत भएका छन् । निगमका संस्थापक सुवर्ण विक्रम थापाको स्मृतिमा प्रत्येक वर्ष एक जना कर्मचारीलाई प्रदान गर्दै आएको पुरस्कार यसपटक नायव कार्यकारी निर्देशक गोइतलाई प्रदान गरिएको हो ।

शुक्रबार आयोजित वार्षिकोत्सव समारोहमा उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले गोइतलाई पुरस्कृत गरेका हुन् । गोइत १ जेठ, ०५२ मा आयल निगम प्रवेश गरेका थिए । उनी नायव कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल अवधिका कारण आगामी जेठमा अवकाश  हुँदै छन् । गाेइतले ६ वर्षअघि निगम प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गरेका थिए ।

आयल निगमको सेवामा रहँदा कर्मचारीहरु पेट्रोलियम पदार्थको जोखिमका कारण विभिन्न रोगबाट दीर्घरोगी हुने गरेका छन् । गोइतलाई समेत २० वर्षअघि निगमको वीरगञ्ज कार्यालयमा रहँदा पेट्रोलियम पदार्थको संक्रमणका कारण शरीर भरी पानीको फोका आउने र छाला पाक्ने रोग लागेका थियो । 

उनी भारतका विभिन्न अस्पताल पुगेर उपचार गरेपछि निको भएका थिए । अहिले पनि बेलाबेला सो रोगले  दुःख दिने गरेको गोइतले निकटस्थहरुलाई सुनाउने गरेका छन् । उनी भारतसँगको पेट्रोलियम व्यापारका लागि ‘नोगेसेसन’ गर्न निगम भित्र सबैभन्दा बढी खोजीको पात्र बनेका छन् । 

आयल निगमका संस्थापक सुवर्ण बिक्रम थापा सबैभन्दा लामो समय महाप्रबन्धकको जिम्मेवारीमा रहेर काम गरेका थिए । उनलाई सरकारले २६ पुस, ०२७ मा नियुक्ती गरेको थियो ।

त्यसपछि १३ बर्षसम्म निगमको नेतृत्व गरेर थापा २६ कात्तिक, ०४० मा बिदा भएका थिए । सबैभन्दा बढी योगदान गर्ने महाप्रबन्धक थापाको नाममा निगमले प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गर्दै आएको छ ।

सुझावित समाचार