मुगुका नाै गाउँमा पहिलोपटक बिजुली पुगेपछि...

बिहिबार, २५ पुष, २०८१
डिजिटल संस्करण

मुगुको छायानाथ रारा नगरपालिका १० र ११ वडाका नाै गाउँमा पहिलोपटक बिजुली पुग्दा स्थानीय खुसी भएका छन्। छायानाथ रारा नगरपालिकाको आर्थिक सहयोग तथा नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको प्राविधिक सहयोगमा वडा नम्बर १० र ११ का ९ वटा गाउँमा विद्युत् सेवा विस्तार गरिएको हो ।

बुधबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै विधिवत् रूपमा दुईवटै वडामा विद्युत् सेवा विस्तारको उद्घाटन गरिएको छ । गाउँमा बिजुली पुगेपछि स्थानीयले बाजागाजा र फूलमालाले अतिथिलाई एक उत्सवका साथ स्वागत गरेका छन् ।

छायानाथ रारा नगरपालिकाकाअन्तर्गत दुई वडाका चराप, गाँडापानी, झाकोट, लुहारपोल्ना, तल्लेख, घट्ललेक, रोवा,  र्याङ्चेकाटी र सालिम गाउँमा विद्युत् सेवा विस्तार गरिएको छायानाथ रारा नगरपालिका मुगुका नगरप्रमुख विष्णुकुमार भामले जानकारी गराए ।

‘अब बिजुली आयो अन्धकारमा बस्नुपर्दैन, दियालोको भर पर्नुपर्दैन । अब विद्यार्थीलाई टुकी बालेर पढ्नुपर्दैन,’ चुनावी घोषणामा साबिकको रोवा गाविस र हालको छायानाथ रारा नगरपालिकामा बत्ती पुगाउने वाचाका साथ  दुवै वडामा पुगेको नगर प्रमुखले बताए ।

विद्युत् सेवाको सञ्चालनले स्थानीय बासिन्दाको दैनिक जीवनमा सहजता ल्याउने र समग्र विकासमा टेवा पुग्ने विश्वास लिएको उनको भनाइछ । छायानाथ रारा नगरपालिकाको एक करोड ९३ लागतमा सञ्चालन भएको आयोजनाबाट  नगरपालिकाका वडा नं. १० र ११ का गाउँबस्तीका तीन हजार ६ सय सर्वसाधारण विद्युत् सेवाबाट लाभान्वित  भएका छन् ।

उद्घाटन समारोहमा नगर प्रमुख विष्णुकुमार भाम, उप्रमुख ऐश्वर्य मल्ल, पूर्वशिक्षा राज्यमन्त्री हस्तबहादुर मल्ल, निवर्तमान नगरप्रमुख हरिजंग शाही, नेपाली कांग्रेस कार्यवाहक सभापति कर्णबहादुर रावल, प्रमुख प्रशासकीय अधिकृत पशुपति शाही, गमगाड वितरण केन्द्रका प्रमुख साजन ऐडी, वडाध्यक्ष पदमराज मल्ल, जिल्लास्थित विभिन्न मिडियामा आबद्ध सञ्चारकर्मीहरू, स्थानीय अन्य सरोकारवालाको उपस्तिथिति रहेको थियो ।

छायानाथ रारा नगरपालिकाको आर्थिक लगानीमा गाउँमा विद्युत् विस्तार भएपछि नगरको दिगो विकासको यात्रामा नयाँ अध्याय थपेको बताइएको छ । नगरपालिकामा रहेका १४ वडाहरूमध्ये अब १२ नम्बर वडाका बस्ती र १४ नम्बर वडाका केही बस्तीमा विद्युत् सेवा पुग्न बाँकी छ ।

सुझावित समाचार