जय ट्रफी : भौतिक संरचना अभावबिच मधेशमा क्रिकेटको माहोल बन्दै

भर्खरै सकिएको नेपाल प्रिमियर लिगले पनि क्रिकेटको क्रेज बढाउन सहयोग गरेको स्थानीयको भनाइ

बुधबार, २४ पुष, २०८१
डिजिटल संस्करण

प्यारापिट नभए पनि दर्शकहरू भुइँमै बसेर हेर्दै छन् क्रिकेट 

पछिल्लो समय मधेश प्रदेशमा क्रिकेटको क्रेज बढ्दो छ । गत आइतबारदेखि जनकपुर र वीरगन्जमा जय ट्रफी दुईदिवसीय मेन्स एलिट कप २०८१ सुरु भएको छ । प्रतियोगितामा मधेशको टिमसँगै बागमती प्रदेश, नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रतियोगिता खेल्नका लागि राष्ट्रियस्तरका खेलाडी र हेर्नका लागि ठुलो संख्यामा दर्शक भेला भएका छन् । वीरगन्ज महानगरपालिका ८ निवासी सन्दीप बस्नेतले मधेश प्रदेशका आठवटै जिल्लामा क्रिकेटको आकर्षण बढेको बताए । ‘वीरगन्ज विगतदेखि नै राष्ट्रियस्तरको खेलाडी जन्माएको ठाउँ हो,’ उनले भने, ‘अहिले पनि यहाँका अधिकांश खेलाडी राष्ट्रिय टिममा खेलिरहेका छन् । तर, यहाँका जीर्ण पूर्वाधार बनाउन वा भौतिक संरचना नयाँ बनाउन सरकारले ध्यान दिएको देखिन्न ।’ 

भर्खरै सकिएको नेपाल प्रिमियर लिगले पनि यहाँ क्रिकेटको क्रेज बढाउन सहयोग गरेको स्थानीय सागर क्षेत्रीले बताए । मधेश प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्सले उक्त प्रतियोगिताको उपाधि जितेको थियो । 

नारायणी क्रिकेट मैदानमा सुधारिएको पिच, तर छैन प्यारापिट
वीरगन्जको नारायणी क्रिकेट मैदानको रेखदेखमा सरकारले पर्याप्त ध्यान दिएको देखिन्न । झन्डै २३ वर्षअगाडि १८ कट्ठा १५ धुर क्षेत्रफलमा सातवटा टर्फ विकेटसहित यो क्रिकेट मैदान निर्माण गरिएको थियो । सरकार र राष्ट्रिय खेलकुद परिषद्ले केही जग्गाधनीसँगको मुआब्जासम्बन्धी विवाद समाधान नगर्दा मैदानमा पूर्ण रूपमा तारजाली वा बाउन्ड्रिवाल लगाउनसमेत समस्या भएको क्रिकेट संघ पर्साका अध्यक्ष मनीष सिंहले बताए । अहिले जय ट्रफी मेन्स एलिट कपका लागि काम चलाउ रूपमा तारजाली लगाइएको छ । त्यस्तै, क्रिकेट पिचलाई पनि स्तरोन्नति गरेर अन्तर्राष्ट्रियस्तरको बनाइएको छ । वीरगन्जनिवासी राष्ट्रिय टिमका खेलाडी आरिफ सेखले अहिले ग्राउन्ड राम्रो अवस्थामा रहेको बताएका छन् । उनी पुलिस क्लबमा आबद्ध छन् । त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले पनि विगतको दाँजोमा अहिले नारायणी रंगशालाको ग्राउन्ड राम्र्रो भएको अनुभव सुनाए । 

मधेश प्रदेशका ब्याटर मयन यादवले जनकपुरको ग्राउन्ड डे क्रिकेटका लागि राम्रो भएकाले खेलाडीहरूले राम्रो प्रदर्शन गरिरहेको बताए । नेपाल पुलिस क्लबका प्रशिक्षक मञ्जित श्रेष्ठले पनि वीरगन्जको नारायणी रंगशालाको पहिलेभन्दा पिच र ग्राउन्ड पनि राम्रो भएको बताए । उनले यहाँका स्थानीयहरूको पनि राम्रो साथ र सहयोग पाइरहेको अवस्था रहेको बताए । 

तर, दर्शकलाई भने यहाँ कुनै पनि सुविधा छैन । प्यारापिट भएकाले कोही दर्शक भुइँमै बसेर त कोही उभिएर खेल हेर्न बाध्य छन् । त्यस्तै, रामजानकी रंगशालामा पनि दर्शकका लागि कुनै सुविधा नरहेको स्थानीयहरूले बताएका छन् । 

राष्ट्रिय खेलकुद परिषद्ले क्रिकेट मैदानका लागि पाँच बिघा जग्गा छुट्याएको थियो । जसमध्ये करिब तीन बिघा मात्र उपयोगमा आएको छ । प्रदेशमन्त्रीलाई भेटेर नारायणी रंगशालाको संरक्षण र विकासका लागि पटक–पटक पहल गरेको संघका अध्यक्ष सिंहले बताए । उनका अनुसार यहाँ अहिले पनि दैनिक एक सयको हाराहारीमा स्थानीय खेलाडी अभ्यास गरिरहेका हुन्छन् । 

जनकपुर र वीरगन्जमा एकैपटक प्रतियोगिता जारी 
निर्माणाधीन जनकपुरको रामजानकी मैदानमा र वीरगन्जको नारायणी रंगशालामा जय ट्रफी मेन्स एलिट कप एकैपटक सुरु भएको हो । आइतबार र सोमबार वीरगन्जमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबिच प्रतिस्पर्धा भएको थियो । त्यस्तै, जनकपुरमा मधेश प्रदेश र बागमती प्रदेश भिडेका थिए । बुधबार र बिहीबार पनि नारायणी रंगशालामा मधेश प्रदेश र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, निर्माणाधीन रामजानकी रंगशालामा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्दै छन् । 

क्रिकेट विकासको विरासत 
नेपाली क्रिकेटको विकासमा वीरगन्जको योगदान ठुलो रहेको पूर्वखेलाडीले बताउने गरेका छन् । नेपाली टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्काले क्रिकेटरका लागि वीरगन्ज उर्वरभूमि रहेको बताए । यहाँ खेल्दा सधैँ राम्रो साथ पाउने गरेको स्मरण पनि उनले गरे । नेपालमा पहिलोपटक रंगीन जर्सीको प्रयोग र खेलाडीलाई भत्ता दिने काम वीरगन्जकै नारायणी रंगशालाबाट सुरु भएको थियो । अक्टोबर २००८ मा व्यवसायी उपेन्द्र महतोको सहयोगमा आयोजना भएको सिनटेज एमएम कपमा पहिलोपटक रंगीन जर्सी प्रयोग र खेलाडीलाई भत्ता वितरण गरिएको वीरगन्जनिवासी क्रिकेटर हासिम अन्सारीले बताए । उनको करिअर पनि यहीँबाट सुरु भएको थियो । उक्त प्रतियोगितामा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेस्वाकर, दीपेन्द्र चौधरीजस्ता स्टार खेलाडीले प्रतिस्पर्धा गरेको उनले स्मरण गरे । 

सुझावित समाचार