विमानस्थल विस्तारमा ३५ प्रतिशत प्रगति

मंगलबार, २३ पुष, २०८१
डिजिटल संस्करण

दुई महिनादेखि राति ८ घण्टा विमानस्थल बन्द गरेर ‘ट्याक्सी–वे’, ह्यांगर र अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई पार्किङ क्षेत्र निर्माण गरिँद

दुई महिनाअघि सुरु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी–वे विस्तारमा ३५ प्रतिशत प्रगति भएको छ । धावनमार्गबाट ७५ मिटर क्षेत्रमा ट्याक्सी–वे निर्माणको काम तीव्र गतिमा भइरहेको नागरिक उड्डयन प्राधिकरण (क्यान) हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका प्रमुख दीपेन्द्र श्रेष्ठले जानकारी दिए । २३ कात्तिकदेखि दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) उडान–अवतरण बन्द गरेर थालिएको निर्माण कार्यमा असर नपर्ने गरी १९ माघदेखि भने ८ घण्टा मात्र विमानस्थल बन्द गरेर विस्तार कार्य भइरहेको छ ।

दीपेन्द्र श्रेष्ठ : परियोजना प्रमुख, क्यान
विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्यांगर एप्रोन’लगायत विस्तारको काममा सन्तोषजनक प्रगति भइरहेको छ । 

धावनमार्गछेउमा भइरहेको निर्माणले उडान–अवतरण जोखिमपूर्ण हुने भएकाले विमानस्थल नै बन्द गर्नुपरेको क्यानले जनाएको छ । १८ चैतसम्म सबै निर्माण कार्य सक्ने लक्ष्य लिइएको श्रेष्ठले जानकारी दिए । ‘विस्तारको काम सन्तोषजनक र कार्यतालिकाअनुसार नै भइरहेको छ,’ उनले भने, ‘तोकिएको समयभित्रै विस्तारको काम सम्पन्न गर्ने लक्ष्य छ ।’ अहिले भइरहेको ट्याक्सी–वे विस्तारको काम सकिएपछि त्रिभुवन विमानस्थल ठुलो बनाउने गुरुयोजनाअन्तर्गत २५ प्रतिशत क्षमता अभिवृद्धि हुनेछ ।

सुरुका दिनमा कार्यप्रगति सन्तोषजनक नभए पनि अहिले तीव्रता पाइरहेको श्रेष्ठले बताए । ‘माटोमुनिको काम सुरु गर्दा अनिश्चितता थियो, खाडल खन्दा माटोमुनि कहाँ कालो माटो छ, कहाँ पानी छ भन्ने थाहै थिएन,’ उनले भने, ‘निर्माणका क्रममा खाडल खनिसकेपछि सबै कुरा यकिन भएको छ । जसकारण अहिले काम गर्न पनि सहज छ ।’ 

हालको निर्माण कार्य सकिएपछि तीन हजार मिटरको धावनमार्ग बढेर ३३ सय मिटर पुग्ने उनले जानकारी दिए । चारवटा ठुला जहाज पार्किङ गर्ने स्थान पनि थपिनेछ ।

ट्याक्सी–वे विस्तारका कारण त्रिभुवन विमानस्थलमा जहाज उडान–अवतरण दैनिक १६ घण्टा मात्रै भइरहेको छ । यसअघि २१ घण्टा (बिहान ६ बजेदेखि राति ३ बजेसम्म) उडान–अवतरण हुने गरेको थियो । बिहान तीन बजेदेखि ६ बजेसम्म तीन घण्टा विमानस्थल बन्द रहन्थ्यो । सुरुमा १० घण्टा विमानस्थल बन्द गरे पनि अहिले आठ घण्टा मात्र बन्द हुँदा यात्रुलाई धेरै सहज भएको क्यानको भनाइ छ । 

खुम्बुमा व्यावसायिक हेलिकोप्टर उडान फुकुवा    
सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले खुम्बु क्षेत्रमा व्यावसायिक प्रयोजनमा हेलिकोप्टर उडान गर्न नदिने निर्णय फिर्ता लिएको छ । सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयले निकुञ्जको अनुमति लिएर प्रचलित कानुनबमोजिम सुरक्षित तवरले हेलिकोप्टर उडान सुचारु गर्न सबै हेलिकोप्टर कम्पनीलाई अनुरोध गरेको छ ।

यसअघि निकुञ्ज कार्यालयले निकुञ्ज क्षेत्रमा अत्यधिक मात्रामा हेलिकोप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा चुनौती थपिएको भन्दै १ जनवरीदेखि व्यावसायिक रूपमा हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको थियो । नाम्चेभन्दा माथिल्लो भेगमा व्यावसायिक हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाउन निकुञ्ज कार्यालयलाई खुम्बु पासाङल्हामु गाउँपालिका, स्थानीय युवा समूहलगायतले अनुरोध गर्दै आएका थिए ।

सुझावित समाचार