बागमती प्रदेश लिगः चित्लाङले जित्यो उपाधि

शनिबार, २० पुष, २०८१
डिजिटल संस्करण

हेटौँडामा सम्पन्न दोस्रो संस्करणको बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको चित्लाङ फुटबल क्लबले जितेको छ। शनिबार भएको उपाधि भिडन्तमा दोलखाको टाइगर टिमलाई ३–० गोलअन्तरले पराजित गर्दै चित्लाङले उपाधि जितेको हो।

चित्लाङको जितका लागि सुजित बुढाथोकीले दुई तथा आयुष कुँवरले एक गोल गरे । पहिलो हाफको २५औँ मिनेटमा सुजितको फ्री–किक गोलबाट अग्रता बनाएको चित्लाङले थप दुई गोल दोस्रो हाफमा गरेको हो । खेलको ७४औँ मिनेटमा सुजितले व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दा आयुषले खेलको अन्तिम समयमा गोल गर्दै टिमको जित सुनिश्चित गरे ।
लिग विजेता चित्लाङले नगद दुई लाखसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, उपविजेता टाइगर टिमले एक लाख नगद प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका चित्लाङका सुजित बुढाथोकीले नगद १५ हजार पुरस्कार पाएका छन् ।

यसैगरी, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चित्लाङका चन्द्रशेखर श्रेष्ठ, उत्कृष्ट डिफेन्डर चित्लाङकै जनक कोइराला, उत्कृष्ट मिडफिडर चित्लाङका विज्ञान खड्का, उत्कृष्ट कोच चित्लाङका रूपेश क्षेत्री हुँदा उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी भए । उनीहरूले जनही पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।

बागमती प्रदेश फुटबल संघको आयोजनामा भएको प्रतियोगितामा प्रदेशका १३ जिल्लामध्ये ११ जिल्लाको लिग बिजेता फुटबल क्लबहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा रामेछाप र रसुवा भने एन्फामा आबद्ध नभएकाले लिगमा सहभागिता नजनाएको संघका महासचिव लवराज ठकुरीले जानकारी दिए ।

सुझावित समाचार