काठमाडौंको भृकुटीमण्डपमा दोस्रो अन्तर्राष्ट्रिय दक्षिण एसियाली पुस्तक मेला चलिरहेको छ। बुधबारदेखि सुरु भएको ‘साउथ एसिया इन्टरनेसनल बुक फेयर २०२५’ पाँच दिनसम्म चल्नेछ। दक्षिण एसियाली लेखकहरूका विभिन्न पुस्तकहरू प्रदर्शनमा राखिएको छ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा प्रदर्शनी भएको हो। महासंघ र करेन्ट मिडियाले गत वर्षदेखि संयुक्त रूपमा सुरु गरेको प्रदर्शनी पुस्तक र शिक्षासँग सरोकार राख्ने व्यक्ति र संस्थाका लागि आकर्षणको केन्द्र बन्दै गएको छ।
‘चेतनाका लागि गुणस्तरीय शिक्षा र गुणस्तरीय शिक्षाका लागि गुणस्तरीय शैक्षिक सामग्री’को सिद्धान्त र आवश्यकतालाई आत्मसात् गरी प्रर्दशनी आयोजना गरिएको आयोजकले जनाएका छन्।
पुस्तक प्रदर्शनीमा नेपालसहित चीन, दक्षिण एसियाका भारतसहितका अधिकांश देश र त्यसबाहिरका प्रकाशक, उत्पादक तथा वितरकहरूको सहभागिता छ। प्रदर्शनीमा १५० भन्दा बढी स्टलका साथै १५० भन्दा बढी प्रकाशकको जमघट छ।
प्रदर्शनीमा नेपालबाट मात्र नभई दक्षिण एसियाली क्षेत्रका धेरै राष्ट्र र चीनको समेत सहभागिता महत्त्वपूर्ण भएकाले स्वदेशी तथा विदेशी शैक्षिक सामग्रीको अवलोकन, आयात, निर्यातजस्ता कुरामा सहज वातावरण बन्ने र विभिन्न देशका उत्पादकबिच आपसी सहकार्यको वातावरण बनाउन सहयोग पुग्ने आयोजकको दाबी छ।
तस्बिरहरू : संजित परियार/नयाँ पत्रिका