इलाममा धान उत्पादन घट्यो

बुधबार, १७ पुष, २०८१
डिजिटल संस्करण

समयमा वर्षा नहुनु, प्राकृतिक विपत् आउनुलगायत कारणले यस वर्ष इलाममा धान उत्पादन घटेको छ। यस वर्ष १० हजार ३४२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्यांकले देखाएको छ।

गत वर्ष ११ हजार २२२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३९ हजार २११ मेट्रिक टन धान उत्पादन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष चार हजार १५२ मेट्रिक टन अर्थात् १०.६४ प्रतिशतले उत्पादनमा कमी आएको केन्द्रका प्रमुख कुलबहादुर राईले जानकारी दिए।

उनका अनुसार यस वर्ष गत वर्षको भन्दा धानको उत्पादकत्व पनि घटेको छ। गत वर्ष उत्पादकत्व प्रतिहेक्टर ३.४९ मेट्रिक टन रहेकोमा यस वर्ष ३.३८ मेट्रिक टनमा झरेको छ। समयमा वर्षा नहुनु, प्राकृतिक विपत् आउनुलगायत कारणले धान उत्पादनमा कमी आएको प्रमुख राईले बताए।

इलाममा रन्जित, राधा ४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ। जिल्लाको चुलाचुली गाउँपालिका र माई नगरपालिका तथा माङसेबुङ, सन्दकपुर र माईजोगमाई गाउँपालिकाको तल्लो क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ।

सुझावित समाचार