नेपाली र भारतीय सेनाको संयुक्त सैन्य अभ्यास

बुधबार, १७ पुष, २०८१
डिजिटल संस्करण

नेपाली सेना र भारतीय सेनाबिच संयुक्त सैनिक अभ्यास सूर्य किरणको १८औँ संस्करण मंगलबार रुपन्देहीस्थित नेपाली सैनिक ब्याटल स्कुल सालझन्डीमा सुरु भएको छ । दुई सातासम्म सञ्चालन हुने सैन्य अभ्यासमा भारतबाट ११औँ गोर्खा राइफल्सअन्तर्गतका ३३४ सैनिक नेपाल आएका छन् । दुई देशका सेनाले हरेक वर्ष पालैपालो आफ्नो देशमा संयुक्त अभ्यास आयोजना गर्दै आएका छन् । 

भारतले ३१ जेठ ०७९ देखि लागू गरेको अग्निपथ योजनासँगै भारतीय सेनामा नेपाली नागरिकको भर्ती स्थगित छ । त्यसयता भारतीय सेनाले नेपाली सेनासँग संयुक्त अभ्यासका लागि दुईपटक गोर्खा सैनिक पठाएको छ, जहाँ नेपाली नागरिक पनि कार्यरत छन् । यसपटक ११औँ गोर्खा राइफल्सका सैनिक सैन्य अभ्यासका क्रममा सहभागी भएको सैनिक प्रवक्ता सहायकरथी गौरवकुमार केसीले बताए । दुई वर्षअघि नेपालमा आयोजना भएको सूर्यकिरण अभ्यासको १६औँ संस्करणमा भारतीय सेनाको पाँचौँ गोर्खा राइफल्सबाट सैनिक आएका थिए । 

भारतीय सेनाको गोर्खा युनिटहरूमा नेपाली मूलका नेपाली र भारतीय नागरिक छन् । जहाँ करिब ६० प्रतिशत नेपाली नागरिक कार्यरत छन् । यसपटकको सैन्य अभ्यासमा नेपाली सेनाको श्रीजंग गण सहभागी छ, जसको नेतृत्व प्रमुख सेनानी नीराजन कटवालले गरेका छन् । 

सुझावित समाचार