ताप्लेजुङका ४२ सय बालबालिकाको निःशुल्क मुटु परीक्षण

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

ताप्लेजुङको फुङलिङ नगरपालिकाका ३९ विद्यालयलका चार हजार २४७ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ। 

हृदयरोग निवारण प्रतिष्ठान काठमाडाैंको आयोजना तथा हृदयरोग निवारण प्रतिष्ठान शाखा ताप्लेजुङको सहजीकरणमा फुङलिङ नगरपालिकाभित्रका कक्षा १ देखि १२ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको मुटु परीक्षण गरिएको हो। 

मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीको नेतृत्वमा नौजनाको चिकित्सक टोलीले बालबालिकाको मुटु परीक्षण गरेको हो। तीनवटा केन्द्र बनाएर गरिएको परीक्षणका क्रममा ३३ जनामा समस्या देखिएको हृदयरोग निवारण प्रतिष्ठान शाखा ताप्लेजुङका सचिव कमलप्रसाद भट्टराईले बताए। 

फुङलिङ नगरपालिका–४ को भानुजन माध्यमिक विद्यालय, वडा नं.७ को कैलजे माध्यमिक विद्यालय र वडा नं. ९ कै जनता माध्यमिक विद्यालयमा गरी तीन स्थानमा मुटुको परीक्षण केन्द्र स्थापना गरिएको थियो। परीक्षण विद्यालयको कक्षा कोठामै गएरसमेत गरिएको थियो। 

मुटुरोगी ३३ मध्ये १० जना नियमित रूपमा औषधि सेवन गर्नुपर्ने छन्। यस्तै, १० जनालाई काठमाडौं लगेर अपरेसन गर्नुपर्ने देखिएको छ। अपरेसन गर्नुपर्ने बालबालिकालाई गंगालाल हृदयरोग निवारण केन्द्रमा लगिने र उनीहरूको अपरेसन निःशुल्क गरिने विशेषज्ञ डा. प्रकाशराज रेग्मीले बताए। डा. रेग्मीले बिरामीलाई अपरेसन, उनीहरूका अविभावकलाई खानेबस्नेसमेत निःशुल्क व्यवस्था मिलाउने बताए। १३ जनाले भने नियमित चेक गराउनुपर्ने डा.रेग्मीले बताए। 

हृदय रोग प्रतिष्ठानबाट डा. प्रेमराज बैद्य, डा. अजय अधिकारी, प्राडा रामकिशोर शाहलगायतको टोली ताप्लेजुङ आएर बालबालिकाको मुटुको परीक्षण गरी फर्किएको छ। 
 

सुझावित समाचार