छिन्नमस्तामा जनकपुर बोल्ट्सले मनायो विजय उत्सव

मंगलबार, १६ पुष, २०८१
डिजिटल संस्करण

सप्तरीको छिन्नमस्ता मन्दिरमा नेपाल प्रिमियर लिग (एनपिएल) काे विजेता जनकपुर बोल्ट्सले मंगलबार विजय उत्सव मनाएको छ । एनपिएल च्याम्पियन ट्रफीसहित आएका खेलाडीहरूलाई छिन्नमस्ता गाउँपालिकाले सम्मान तथा अभिनन्दन पनि गरेको छ ।

छिन्नमस्ता शक्तिपीठमा पूजाअर्चना र देवीको आशीर्वाद ग्रहणपछि गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले टिमका ओनर उत्सव सिग्देल, क्याप्टेन ललित राजवंशी र अन्य खेलाडीहरूलाई एक लाख पाँच हजार रुपैयाँको पुरस्कार, कदरपत्र, मधेशको पहिचान झल्काउने गम्छा र मिथिलाको पाग पहिराएर सम्मान व्यक्त गरे । अध्यक्ष चौधरीले टिमलाई धन्यवाद दिँदै भने– यो सानो योगदानले खेलाडीहरूमा ऊर्जा र आत्मबल थप्ने विश्वास छ। जनकपुर बोल्ट्सको सफलताले देशभरका युवालाई खेलकुदप्रति आकर्षित गर्नेछ।

अध्यक्षले खेलकुदको विकास र खेलाडीहरूको सशक्तीकरणका लागि राज्यले अझ धेरै पहल गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने– नेपाल सरकारले खेलाडीहरूको जीवनमा आर्थिक अभाव नहोस् भनेर थप ध्यान दिनुपर्छ। उनीहरूको पारिश्रमिक वृद्धि गर्दै खेलकुदलाई दीर्घकालीन प्रगतिका लागि महत्त्वपूर्ण आधार बनाउन जरुरी छ। खेलकुदले मात्र होइन, यसले युवाको भविष्य र देशको पहिचानलाई पनि बलियो बनाउँछ।

६ पुसमा त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुर बोल्ट्स एनपिएलको फर्स्ट सिजन विजेता बनेपछि मधेश प्रदेशको राजधानी जनकपुरसहित प्रदेशअन्तर्गतका जिल्लाहरूमा स्थानीयस्तरमा सर्वसाधारण र स्थानीय तहहरूले भव्य स्वागतसहित अभिनन्दन गरिरहेका छन्।

सुझावित समाचार