नेपाल प्रहरीकी अतिरिक्त महानिरीक्षक(एआइजी) किरण बज्राचार्यले अवकाश पाएकी छिन्। उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यरत थिइन्।
एआइजीको ५६ वर्षे उमेरहदका कारण अवकाश पाएकी उनको कार्यालयले सोमबार बिदाई गरेको छ। उनको अवकाशसँगै उपत्यका प्रहरी कार्यालय नेतृत्वविहीन बनेको छ।
उपत्यका प्रहरी कार्यालयसहित उपत्यकाका तीन प्रहरी कार्यालय निमित्तका भरमा चलेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा डिआइजी खटिनेमा एसपी निमित्त प्रमुख छन्। त्यहाँ कार्यरत भरतबहादुर बोहरा एआइजीमा बढुवा भएर अवकाश पाइसकेका छन्। गृह मन्त्रालयले नयाँ नेतृत्व पठाउन सकेको छैन। त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यसअघि डिआइजी खटिनेमा एसपी गोविन्द अधिकारी निमित्त प्रमुखका रूपमा कार्यरत छन्।
प्रहरीमा समयमा बढुवा हुन नसक्दा धेरै कार्यालयहरूमा हाल समस्या देखिएको छ। प्रहरीमा हाल दुई एआइजी, पाँच डिआइजी र २५ एसएसपीका पद रिक्त भएका छन्।