पोखरामा दोस्रो ड्रागन बोट रेस प्रतिस्पर्धा आइतबारदेखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलकुदमन्त्री तेजुलाल चौधरीले गरेका छन् । नेपाल र चीनबिचको सांस्कृतिक सम्बन्ध सुमधर बनाउने उद्देश्यका साथ लगातार दोस्रो वर्ष पनि ड्रागन बोट रेस भएको हो । रेसमा नेपालका ११, चीनका आठ र सिंगापुरको एक टोलीले भाग लिइरहेका छन् । समग्रमा प्रतिस्पर्धामा २० टोली सहभागी भएको आयोजकले जनाएको छ ।
गत संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । लेकसाइड क्याम्पिङचोकस्थित फेवाताल किनारमा सुरु रेसमा नेपालबाट नेपाल टिम, पोखरा महानगरपालिका, नारा टिम, ड्रागन बोट एसोसिएसन बागमती, कर्णाली, गण्डकी, त्रिभुवन आर्मी, हिमालयन रिभर गाइड एसोसिएनसन, नेपाल ¥याफ्टिङ एसोसिएसन, बेगनास र रूपातालले भाग लिइरहेका छन् ।
चीनबाट वुहान स्पोर्टस् युनिभर्सिटी, हुवेई युनिभर्सिटी, डोङवान ड्रागन बोट क्लब, साउथ–वेस्ट्रन मेडिकल युनिभर्सिटी, लिओचिङ युनिभर्सिटी, टिम अफ लिन्झी सिटी, युनान नर्मल युनिभर्सिटी र युनान मिन्जु युनिभर्सिटीले भाग लिएका छन् । सिंगापुरको केजिएच सिंगापुर एसजी ड्रागन्स केजिएच मात्र सहभागी रहेको छ ।
विजेतालाई पाँच हजार अमेरिकी डलर
रेसमा प्रयोग हुने बोटमा १२ जनामध्ये एकजनाले चाइनिज ड्रम बजाउनेछन् । ड्रमको धुनमै अन्य खेलाडीले डुंगा खियाउँदै निर्धारित दूरी पूरा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच हजार अमेरिकी डलर पाउनेछ । उपविजेताले दुई हजार डलर र तेस्रो हुनेले एक हजार दुई सय अमेरिकी डलर पाउनेछन् । प्रतियोगितामा सहभागी अन्य १७ वटा टोलीलाई पाँच सय अमेरिकी डलर प्रदान गरिने आयोजकले जनाएको छ ।
पोखराका मेयर धनराज आचार्यले प्रतियोगिताले नेपाल र चीनबिचको दुईपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने बताए । खेलकुदमन्त्री चौधरीले नेपाल ओलम्पिक कमिटी (एनओसी)लाई कारबाही गर्ने बताएका छन् । ‘मन्त्रालयको निर्देशनसँगै सर्वोच्च अदालतले गरेको आदेश अवज्ञा गर्दै निर्वाचन गरेकाले उनीहरूलाई कारबाही गरिनेछ,’ उनले भने ।
एक नेपाली टोली मात्र सेमिफाइनलमा
दोस्रो संस्करणको ड्रागन बोट प्रतिस्पर्धामा आइतबार आठ टोलीले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । आठमध्ये एक नेपाली टोलीले मात्र अन्तिम चारमा स्थान पक्का गरेको छ । नेपालबाट नारा टोलीले दुई सय मिटरको स्पर्धामा सेमिफाइनल स्थान सुरक्षित गरेको आयोजकले जनाएको छ । यसबाहेक सात चिनियाँ टोली अन्तिम चारमा पुगेका हुन् । पाँच सय मिटरअन्तर्गत सेमिफाइनलमा दुवै समूहबाट चीनका समान चार टोलीले स्थान पक्का गरेका छन् ।
