ब्राेइलर कुखुराको मासु खाएलगत्तै एकको मृत्यु, तीनजना अस्पताल भर्ना

आइतबार, १४ पुष, २०८१
डिजिटल संस्करण

अछाममा ब्राेइलर कुखुराको मासु खाएलगत्तै एकजनाको मृत्यु भएको छ भने तीनजना गम्भीर बिरामी परेका छन् ।

कमलबजार नगरपालिका- ३ बयलाका तुलासिंह विकका १५ वर्षीय छोरा कमल विकको आइतबार मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

बिहान घरमा ल्याएको कुखुराको मासु खाएलगत्तै कमलको मृत्यु हुनुका साथै ७० वर्षीया नामविक, अन्दाजी १४ वर्षीय सीता विक र नाै वर्षीय विकास विक गम्भीर बिरामी भएकाे परिवारकाे दाबी छ । बिरामी तीनैजनालाई थप उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याएर उपचार भइरहेको छ भने उनीहरूको अवस्था मध्यम रहेको जनाइएको छ ।

मासु खाएर नै मृत्यु भएको हो वा अन्य कारणले हाे भनेर प्रहरीले अनुसन्धान थालेको जनाएकाे छ । मृतककाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याइएको छ । घटनाबारे अस्थायी प्रहरी पोस्ट बेल्खेतमा जानकारी आउना साथ प्रहरी सहायक निरीक्षक भूमिबहादुर कामीको कमान्डमा दुईजनाको टोली र जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक जय पार्कीको कमान्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

सुझावित समाचार