पर्साका १४ स्थानीय तहमध्ये अधिकांशका प्रशासकीय अधिकृत कार्यालय समयमा नभेटिने गरेको सेवाग्राहीको गुनासो छ । कार्यालयमा नभेटिने मात्रै होइन मोबाइल फोन स्वीच अफ गरेर बस्ने, सेवाग्राहीलाई झुलाएर राख्ने गरेको भन्दै मेयर÷अध्यक्षहरूलाई गुनासो गर्दा समेत उनीहरूमाथि कुनै कारवाही नभएको सेवाग्राहीको दुखेसो छ ।
पर्सा जिल्लामै घर भएका कतिपय प्रशासकीय अधिकृतहरू त स्थानीय तह गठन भएयता सरुवा समेत भएको छैन । सरुवा भए पनि छिमेकको पालिकामा हुने गरेको छ । उनीहरुको सरुवा अन्य जिल्लाका स्थानीय तहमा गराउन नमान्ने, सरुवा भए पनि घुमफिर गरेर फेरि पर्सा कै पालिकामा पुगिहाल्ने गरेका छन् ।
४ अधिकृत ६ वर्षदेखि पर्सामै कार्यरत
स्थानीय तह गठन भएदेखि पर्सा घर भएका चारजना अधिकृतले जिल्ला बाहिर जानु परेको छैन । बिन्दबासीनी गाँउपालिका निवासी अधिकृत अमित गिरी, पकाहामैनपुर गाँउपालिका निवासी अधिकृत देवनाथ साह, वीरगन्ज महानगरपालिका–२४ बहुअरी निवासी अधिकृत राज कुशवाहा र बहुदरमाई नगरपालिका निवासी अधिकृत अशोक रौनियार ०७४ देखि पर्साकै विभिन्न स्थानीय तहमा कार्यरत छन् ।
गिरीले बिन्दबासीनी गाउँपालिका, जगरनाथपुर गाउँपालिका, जिराभवानी गाउँपालिका र कालिकामाई गाउँपालिकामा काम गरिसकेका छन् । गिरीले जिराभवानीमा दुई कार्यकाल बिताएका छन् । उनी अहिले कालिकामाईमा दोस्रो कार्यकालका लागि कार्यरत छन् ।
अधिकृत देवनाथ साह पनि पर्सामा लामो समयदेखि कार्यरत छन् । उनले कालिकामाई गाँउपालिका, छिपहरमाई गाँउपालिका, संखुवाप्रसौनी गाउँपालिकामा र पटेर्वा सुगौली गाँउपालिकामा काम गरिसकेका छन् । अहिले उनी आफ्नै पालिका पकाहामैनपुर गाँउपालिकामा कार्यरत छन् । उनी पनि ०७४ देखि पर्साबाहिर जानु परेको छैन ।
वीरगन्ज महानगरपालिका–२४ बहुअरी निवासी अधिकृत राज कुशवाहा ६ वर्षयता पर्साका ६ पालिका घुमिसकेका छन् । उनी जगरनाथपुर गाउँपालिका, धोबिनी गाउँपालिका, पकाहामैनपुर गाउँपालिका र विन्दबासिनी गाउँपालिका र ठोरी गाउँपालिका पुगिसकेका छन् । कुशवाहा अहिले जिराभवानी गाउँपालिकामा कार्यरत छन् ।
पर्साको बहुदरमाई नगरपालिका निवासी अधिकृत अशोक रौनीयार केहीसमय अघिसम्म जिल्ला शिक्षा तथा समन्वय इकाइमा अधिकृतको रुपमा काम गरिसकेका छन् । उनले पोखरीया नगरपालिका, धोबिनी गाउँपालिका र दुई कार्यकाल छिपहरमाई गाउँपालिकामा अधिकृतको रुपमा काम गरिसकेका छन् । अहिले उनी दोस्रो कार्यकालको लागि धोबिनी गाउँपालिकामा कार्यरत छन् ।
कार्यालय समयमा मोबाईल बन्द गरे कारवाही : सामान्य प्रशासन मन्त्रालय
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी अश्विनकुमार पोखरेलले सरकारले अहिलेसम्म एउटा पालिकामा कति समय बस्ने भन्ने स्पष्ट व्यवस्था नगरेको बताए ।
पालिकामा बसेर काम गर्न सजिलो हुने भएकाले केही अधिकृत उतै बस्न रुचाउने खालका हुनसक्ने पोखरेलको भनाइ छ । साथै उनले जिल्ला कुनै पनि कार्यालयमा मन्त्रालयले भनेअनुसार बसेर काम गर्न सकिने व्यवस्था रहेको बताए ।
यद्यपि, कार्यालय समयमा कुनै पनि कर्मचारी कार्यालय नभेटिए वा मोबाइल बन्द गरेर बसेको भन्ने गुनासो आएमा कारवाही हुने पोखरेलको भनाइ छ । सूचना अधिकारी पोखरेलका अनुसार कार्यालय नजाने, मोबाइल अफ गरेर बस्ने गुनासो आए कारवाही हुने उनले आश्वासन दिए ।
सेवाग्राहीको गुनासो बारे जिराभवानी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहलाई उनकै कार्यालयमा पुगेर फोन गर्दा कार्यालयमै रहेको जवाफ दिए । यद्यपि, उनी कार्यालयमा भने थिएनन् । आइतबार कार्यालयमै नआएको एक कर्मचारीले बताए । उनी ०७४ सालदेखि पर्सामा कार्यरत छन् । यसबिचमा केहि महिनाको लागि ०७६ सालमा अध्यागमन कार्यालय पर्सामा खटिएका थिए ।
यस्तै, पकाहामैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साह पनि आइतबार कार्यालयमा भेटिएनन् । उनले कार्यालयमा नरहेको र काठमाडौं गएको म्यासेजमा जवाफ दिए ।
अर्को अधिकृत अशोक कुमार रौनियारलाई पनि आइतबार कार्यालय गएका थिएनन् ।
अधिकृत अमित गिरीले तीन दिनदेखि कार्यालय नगइ मोबाइल समेत स्वीच अफ गरेर बसेका छन् ।
आवश्यक कागजपत्र उनीहरू भएकै ठाउँमा पुग्छ
पालिका अधिकृतहरू नियमित रुपमा कार्यालयमा नआए पनि उनीहरूको स्वार्थअनुकुलको काम भने नरोकिने एक कर्मचारीले बताए । कार्यालयका कर्मचारीहरू आवश्यक कागजपत्र लिएर हस्ताक्षरका लागि सदरमुकाममा बस्दै आएका अधिकृतहरू कहाँ पुग्ने गरेको उनको भनाइ छ ।
धोबिनी गाउँपालिकाका अध्यक्ष मदनप्रसाद चौहानले पालिकाका अधिकृतहरू कामको चापकै कारण नियमित कार्यालय नआउने गरेको बताए । उनले भने, ‘गाउँपालिकामा कामको धेरै नै चाप छ । यहाँ कामभन्दा पनि तनाव दिने छन् । यही कारण अधिकृतहरू कार्यालयमा आउनै रुचाउँदैन् ।’
पकाहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेशप्रसाद मेहताले अधिकृत साह सधैँ कार्यालयमा नआउने कुरा केही हदसम्म सत्य रहेको बताए । पछिल्लो ४–५ दिनयता पनि कार्यालय नआएको उनले बताए । अधिकृत साहले व्यक्तिगत काम परेको र अझै केही समय नआउने जानकारी दिएको उनले बताए ।