यस वर्षको प्रलेस प्रतिभा पुरस्कारबाट साहित्यकार झमक घिमिरे सम्मानित भएकी छिन् । प्रगतिशील लेखक संघ (प्रलेस) केन्द्रीय समितिले उक्त पुरस्कार आइतबार झमक घिमिरे निवास धनकुटा नगरपालिका–६ कचिंडेमा वितरण गरेको हो ।
प्रलेस नेपालकी उपाध्यक्ष नमुना शर्मा तथा महाचिव देवी क्षेत्री दुलाल लगायतले उक्त पुरस्कार प्रदान गरेका थिए । घिमिरेलाई २० हजार एक सय नगदसहित सम्मान–पत्र र दोसल्ला प्रदान गरिएको छ । गत असोजमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रलेस केन्द्रीय अध्यक्ष मधुसूदन गिरीको उपस्थितिमा उक्त पुरस्कार घोषणा गरिएको थियो ।
गतिशील वाङ्मयको उन्नयनमा उच्च योगदान पुर्याएका व्यक्तिलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गरिने प्रलेस केन्द्रीय समितिका उपाध्यक्ष नमुना शर्माले बताइन् ।
पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईं, प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललगायतले पुरस्कृत व्यक्तित्व साहित्यकार झमक घिमिरेको बारे धारणा राखेका थिए । घिमिरे पछिल्लो समय स्वास्थ्यमा समस्या भई उपचारका क्रममा रहेकी छिन् । घिमिरेले ‘जीवन काँडाकी फूल’ नामको कृतिका लागि मदन पुरस्कार प्राप्त गरेकी थिइन् ।
०५३ सालदेखि लेखन सुरु गरेकी झमकले राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाहरूमा स्तम्भहरू लेखेकी छिन् । उनका संकल्प, आफ्नै चित्ता, अग्निशिखातिर, मान्छे भित्रका योद्धाहरु लगायतका दर्जनौं कृतिहरु प्रकाशित भएका छन् ।
उनले कविता बाल साहित्य प्रतिभा पुरस्कार (०५५), अस्वीकृत विकार साहित्य पुरस्कार (०५६), लैनसिंह वाङ्देल पुरस्कार (०७२), प्रवल गोरखा दक्षिण बाहु चौथो लगायतका पुरस्कार तथा सम्मान प्राप्त गरेकी छिन् ।