आइआइडिएस अध्ययन प्रतिवेदन भन्छ– नेपाललाई विसं २१०० मा प्रतिव्यक्ति आय १४ हजार २ सय अमेरिकी डलरसहित उच्च आय भएको देश बनाउन सकिँदैन, प्रतिव्यक्ति आय ६ हजार २ सय अमेरिकी डलरसहित उच्च–मध्यम आय भएको देश भने बन्न सक्छ
सर्वांगीण विकास अध्ययन केन्द्र (आइआइडिएस)ले नेपाल सरकारको दीर्घकालीन सोचले लिएका लक्ष्यहरू पूरा हुन नसक्ने भन्दै चुनौती दिएको छ । आइआइडिएसले दीर्घकालीन सोचका लक्ष्य अति महत्वाकांक्षी र अवास्तविक देखिएको भन्दै त्यसलाई परिमार्जन गर्न सरकारलाई सुझावसमेत दिएको छ ।
सरकारको १५औँ योजनाअन्तर्गत दीर्घकालीन सोचमा विसं २१०० सम्ममा प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलरबराबर पुग्ने गरी नेपाललाई उच्च आय भएको देश बनाउने लक्ष्य राखिएको छ । तर, आइआइडिएसले त्यसलाई ‘आदर्श स्वप्न चित्र’ भन्दै परिमार्जन गरेर वास्तविक र सम्भवयोग्य बनाउन सुझाव दिएको हो ।
आइआइडिएसका कार्यकारी निर्देशक डा. विश्वास गौचनले सही नीति तथा योजना नहुँदा विनियोजन कुशलता नहुने र त्यसले समग्र विकासमै असर गर्ने भन्दै दीर्घकालीन सोचलाई परिमार्जन गर्नुपर्ने बताए । ‘कुनै पनि नीतिले स्रोत विनियोजनको कुशलतालाई निर्देशित गर्छ । नीति सही छ भने विनियोजन कुशलता हुन्छ, तर नीति नै सही छैन भने विनियोजन कुशलता सम्भव हुँदैन,’ उनले भने, ‘पन्ध्रौँ योजनाअन्तर्गतका दीर्घकालीन सोचका लक्ष्य सही छैनन्, कतिपय हास्यासपद देखिन्छन्, त्यसलाई व्यावहारिक नबनाइए स्रोतको विनियोजन सही ठाउमा नहुन सक्छ ।’
तत्कालीन सरकारले फागुन ०७६ मा पारित गरेको १५औँ योजनामा सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न २५ वर्षका लागि दीर्घकालीन सोच २१०० समेत राखिएको छ । विसं २१०० सम्म नेपालाई ‘समुन्नत, स्वाधीन र समाजवादउन्मुख अर्थतन्त्रसहितको समान अवसर प्राप्त, स्वस्थ, शिक्षित, मर्यादित र उच्च जीवनस्तर भएका सुखी नागरिक बसोवास गर्ने मुलुक’ बनाइने दीर्घकालीन लक्ष्य राखिएको छ । तर, आइआइडिएसले तुलनात्मक अध्ययन तथा विश्लेषण गरी तयार पारेको प्रारम्भिक प्रतिवेदनले दीर्घकालीन सोचका अधिकांश लक्ष्य पूरा हुनै नसक्ने देखाएको हो । ‘त्यत्रा अनुभवी र विज्ञहरूको संलग्नतामा तयार भएको दीर्घकालीन सोच केवल राजनीतिक घोषणापत्रजस्तो मात्रै रहेछ,’ उनले भने, ‘हामीले अहिले प्रारम्भिक प्रतिवेदन तयार पारेर छलफल सुरु गरेका छौँ, तीन महिनाभित्र प्रतिवेदनलाई पूर्णता दिएर सरकारलाई सुझाव दिनेछौँ ।’
दीर्घकालीन सोचमा प्रतिव्यक्ति आय १२ हजार एक सय अमेरिकी डलरबराबर पुग्ने गरी नेपाललाई उच्च आय भएको देश बनाउने लक्ष्य राखिएको छ । आइआइडिएसले त्यसलाई परिमार्जन गरेर प्रतिव्यक्ति आय ६ हजार दुई सय अमेरिकी डलरबराबर भएको उच्च–मध्यम आय भएको मुलुक बनाउन प्रस्ताव गरेको हो । त्यस्तै, दीर्घकालीन सोचले विसं २१०० सम्म औसत १०.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । उक्त आर्थिक वृद्धिदर सम्भव नहुने भन्दै आइआइडिएसले ६.६ प्रतिशतको वृद्धिदरको लक्ष्य राख्न सुझाएको हो ।
हाल विश्वमा २६ वटा न्यून आय भएका देश छन्, जसको प्रतिव्यक्ति आय एक हजार एक सय ४५ अमेरिकी डलर वा सोभन्दा कम रहेको छ । त्यस्तै, न्यून मध्यम आय भएका देश ५१ वटा छन् जसको प्रतिव्यक्ति आय एक हजार एक सय ४६ देखि चार हजार पाँच सय १५ अमेरिकी डलर रहेको छ । विश्वमा उच्च–मध्यम आय भएका देश ५४ वटा रहेका छन् । यस्ता देशमा प्रतिव्यक्ति आय चार हजार पाँच सय १६ देखि १४ हजार पाँच सय अमेरिकी डलरसम्म रहेको छ । त्यस्तै, उच्च आय भएका देश ८६ वटा छन् जसको प्रतिव्यक्ति आय १६ हजार ६ अमेरिकी डलर वा सोभन्दा बढी रहेका छन् । ‘आइआइडिएसले सुझाव गरेको लक्ष्य पनि महत्वाकांक्षी नै हुन्, तर सुधारका काम गरेमा त्यो सम्भव छ,’ उनले भने, ‘सरकारले २१०० मा मलेसियाजस्तो हुने लक्ष्य राखेको छ, जुन सम्भव छैन, हामी हंगेरीजतिको चाहिँ बन्न सक्छौँ ।’
आइआइडिएसका अनुसार सन् २००१ मा चीनको प्रतिव्यक्ति आय एक हजार ४५ अमेरिकी डलरबराबर थियो । दुई दशकपछि २०२१ मा चीनको प्रतिव्यक्ति आय १२ हजार ५ सय ६२ अमेरिकी डलरबराबर पुग्यो । उक्त अवधिमा चीनको औसत आथिक वृद्धिदर ८.७ प्रतिशत भयो भने चिनियाँ मुद्राको भाउसमेत २२ प्रतिशतले बढेको थियो । त्यस्तै, सन् २००८ मा भारतको प्रतिव्यक्ति आय एक हजार २० अमेरिकी डलरबराबर थियो । डेढ दशकपछि भारतको प्रतिव्यक्ति आय दुई हजार चार सय ६६ अमेरिकी डलरबराबर पुग्यो । यस अवधिमा भारतको औसत आर्थिक वृद्धिदर ६.२ प्रतिशत थियो भने भारतीय मुद्राको भाउ ६९ प्रतिशतले घटेको थियो । ‘चीनले चार दशकमा गर्न नसेको विकास हमीले २४ वर्षमा गर्छौँ भनेर नीति तथा योजना बन्नु त्यो अति नै महत्वाकांक्षी भयो ।
आइआइडिएसले नीति तथा योजनालाई वास्तविक बनाउनुपर्ने विषयलाई अघि सारेको अनुसन्धान सहायक आर्यान रिजालले बताए । ‘हामीले तुलनात्मक अध्ययन र विश्लेषण गर्यौँ, नेपालको अहिलेको अवस्था, दीर्घकालीन सोचका लक्ष्य, अन्य मुलुकले हासिल गरेका प्रगतिलगायतलाई अध्ययन गर्यौँ,’ उनले भने, ‘लामो समयको अध्ययनबाट हाम्रो देशले लिएको दीर्घकालीन सोचका लक्ष्यहरू अवास्तविक भएको पायौँ ।’ आइआइडिएसले ६० पेजको भिजन २१०० पेपर तयार पारिरहेको उनले जानकारी दिए । आर्थिक मात्र नभई सामाजिक क्षेत्रका लक्ष्यसमेत अवास्तविक देखिएको आइआइडिएसको पेपरमा उल्लेख छ । ‘दीर्घकालीन सोचले औसत आयु ८० वर्ष पुर्याउने लक्ष्य राखेको छ, जबकि मलेसिया र ब्राजिलजस्ता देशको औसत आयु ७३.४ वर्ष हाराहारी मात्रै छ,’ उनले भने ।
आइआइडिएसले शुक्रबार काठमाडौंमा ‘भिजन २१००’ कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा आइआइडिएसका कार्यकारी निर्देशक डा. गौचनले पेपर प्रस्तुत गरेका थिए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अर्थतन्त्र र यससम्बन्धी नीति तथा योजनामाथि छलफल हुँदै प्रश्नसमेत उठ्नु सकारात्मक भएको बताए ।