फेवातालमा भोलिदेखि दोस्रो संस्करणको ड्रागन बोट रेस

नेपाल, चीन र सिंगापुरका २० टोलीबिच प्रतिस्पर्धा

शनिबार, १३ पुष, २०८१
डिजिटल संस्करण

पर्यटकीय नगरी पोखरामा दोस्रो संस्करणको नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस प्रतियोगिता भोलिदेखि फेवातालमा सुरु हुँदैछ ।

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा हुने प्रतियोगिता सोमबारसम्म चल्नेछ ।

प्रतियोगिताको पहिलो संस्करण असार ०८० मा सम्पन्न भएको थियो । प्रतियोगिताका लागि चीनबाट आठवटा ड्रागन बोट पोखरा ल्याइएको छ । पहिलो संस्करणमा पनि आठवटा बोट चीनबाट ल्याइएको थियो ।

चिनियाँ दुतावासको सहयोगमा नेपाल ल्याइएको एउटा बोट पोखरा ल्याउँन करिब ३० लाख खर्च हुने आयोजकको भनाइ छ । पोखरासँगै नेपालमा पर्यटन प्रवद्र्धनसँगै चीनियाँ पर्यटक भित्र्याउन प्रतियोगिताले सहयोग पुग्ने पोखरामा मेयर धनराज आर्चायले जानकारी दिए । प्रतियोगितासँगै दुवै देशका साँस्कृतिक प्रस्तुति र खाद्य प्रदर्शनी समेत हुनेछन् ।

दुई विधामा प्रतिस्पर्धा
नेपाल–चीनबीच रही आएको साँस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधुर बनाउन तथा नेपालमा चिनियाँ पर्यटक बढाउने उदेश्यसहित आयोजना हुन लागेको फेस्टिभलअन्तर्गत दुई सय र पाँच सय मिटरका दुई विधामा प्रतिस्पर्धा हुनेछ । 

२० टोलीबिच प्रतिस्पर्धा
उक्त रेसमा नेपालका ११, चीनका आठ र सिंगापुरको एक गरी २० टिमले प्रतिस्पर्धा गर्ने मेयर आर्चायले जानकारी दिए । अघिल्लो संस्करणमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
लेकसाइड क्याम्पिङचोकस्थित फेवाताल किनारमा हुने प्रतियोगितामा नेपालबाट नेपाल टीम, पोखरा महानगरपालिका टिम, नारा टिम, ड्रागन बोट एसोसिएसन बागमती, कर्णाली, गण्डकी, त्रिभुवन आर्मी क्लब, हिमालयन रिभर गाइड एशोसिएनसन, नेपाल र्याफ्टिङ एसोसिएसन, बेगनास र रुपाताल टिमको सहभागिता रहनेछ ।

चीनबाट वुहान स्पोट्र्स युनिभर्सिटी, हुवेइ युनिभर्सिटी, डोङवान ड्रागन बोट क्लब, साउथ वेष्ट्रन मेडिकल युनिभर्सिटी, लिओचिङ युनिभर्सिटी, टिम अफ लिन्झी सिटी, युनान नर्मल युनिभर्सिटी र युनान मिन्जु युनिभर्सिटी सगै सिंगापुरको केजिएच सिंगापुर एसजी ड्रागन्स केजिएच टिमको सहभागिता रहनेछ । 

प्रतियोगिताको विजेताले पाँच हजार डलर (नेपाली करिब ६ लाख ७९ हजार), उपविजेताले दुई हजार डलर (नेपाली करिब २ लाख ७१ हजार), तेस्रोले एक हजार दुई सय डलर (नेपाली करिब १ लाख ६३ हजार) र प्रतियोगिता सहभागी अन्य १७ टोलीले पाँच सय डलर (नेपाली करिब ६८ हजार) पुरस्कार पाउनेछन् ।
 

सुझावित समाचार