नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बिचौलियाको डिजाइनअनुसार सरकारले नयाँ स्टक एक्सचेन्ज खोल्ने अनुमति दिन लागेको आरोप लगाएका छन्। सरकारको यो कदमले देशको अर्थतन्त्र डामाडोल हुने र यसको स्वामित्व पूरै बिचौलियाको हातमा पुग्ने उनको भनाइ छ।
आफू अर्थमन्त्री भएको वेलामा नै नयाँ स्टक एक्सचेन्ज खोल्न ठुलो दबाब आएको, तर अस्वीकार गरेको स्मरण गर्दै उनले त्यही बिचौलिया समूहले अहिलेको सरकार र अर्थमन्त्रीलाई प्रभावमा पारेर धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नेदेखि नयाँ स्टक एक्सचेन्जको अनुमति दिनेसम्मको खेल गरिरहेको उनले दाबी गरे।
‘देशको आर्थिक समृद्धिका लागि हाम्रो सरकारले ल्याएको बजेट कार्यान्वयन गर्न छोडेर यो सरकारले आर्थिक विचलन ल्याउन खोजिरहेको छ। स्वार्थ समूहले नै यो सरकार बनाएको भन्ने हाम्रो भनाइ अहिले सरकारले व्यवहारमा नै पुष्टि गरिरहेको छ,’ उनले भने, ‘अहिले नयाँ स्टक एक्सचेन्ज बिचौलिया समूहको योजनामा खुलाउन प्रक्रिया थाल्नु गलत छ। यो नीतिगत भ्रष्टाचारकै अर्को नमुना हो। नयाँ स्टक एक्सचेन्ज खोल्नुभन्दा पनि सरकारले नेपाल सरकारको स्वामित्वमा रहेको नेप्सेलाई नै सुदृढ गर्नुपर्छ। निजीलाई दिने सरकारको योजनामा अरबौँको भ्रष्टाचार र चलखेल हुँदै छ।’
गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र प्रदान गर्ने सम्बन्धमा गठित अध्ययन समितिको प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय गरेको थियो।
उक्त प्रतिवेदनले नेपालमा दोस्रो धितोपत्र बजार सञ्चालनका लागि अनुमतिपत्र दिनु उपयुक्त हुने सुझाव दिएको थियो।
आफ्नो निर्वाचन क्षेत्र रोल्पा जिल्लाका कार्यक्रमहरूमा व्यस्त रहेका नेता पुनले माओवादी लुंग्री गाउँपालिकाको पहिलो बैठकलाई सम्बोधन गरेका हुन्। पूर्वअर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुनले सरकारको यो गलत कदमको माओवादीले सदन र सडकबाट भण्डाफोर र खबरदारी गर्ने चेतावनी दिए।
आफू अर्थमन्त्री हुँदा अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकारले राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउँदै देशको समानुपातिक विकास गर्ने गरी ल्याएको बजेट अहिलेको सरकारले कार्यान्वयन नगरेर आर्थिक अराजकता सिर्जना गरेको उनको टिप्पणी छ।
प्रधानमन्त्री केपी ओली, सत्तारूढ दलका नेता शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेललगायतका नेताहरूले आफ्नो जिल्ला र चुनावी क्षेत्रमा बजेट केन्द्रित गरिरहेको उनले बताए। बजेटले कृषि, पर्यटन, जलविद्युत् र उद्योग तथा सूचना प्रविधिमा रूपान्तरणको परिकल्पना गरे पनि अहिलेको सरकारले त्यसको कार्यान्वयन नगरेर गल्ती गरिरहेको उनको भनाइ छ।
यो सरकारसँग गति र मति दुवै नभएको टिप्पणी गर्दै नेता पुनले भने, ‘भुटानी शरणार्थीको फाइल बन्द गर्ने, सहकारीमा आफ्नो मा़न्छे जोगाउने र नयाँ–नयाँ सेटिङमा यो सरकार लागेको छ। हामी सरकारको हरेक गलत कदमको खबरदारी गर्छौँ।’
केही समयअघि सम्पन्न उपनिर्वाचन र नेपाल पत्रकार महासंघको निर्वाचनले देशमा क्रान्तिकारी शक्तिहरूको विकल्प छैन भन्ने कुरा फेरि पुष्टि गरेको उनले तर्क गरे। समाजको बौद्धिक वर्गले काम गर्ने पत्रकार महासंघको चुनावमा प्रेस सेन्टरको मत बलियो हुनु, उपचुनावमा माओवादी जनमत बढाउँदै दोस्रो हुनुले पनि जनताले विकल्पका रूपमा माओवादी रोजेको छ,’ उनले भने।