सडक पुगेपछि ताप्लेजुङका हिमाली क्षेत्रका बासिन्दा भन्छन्– तिब्बतको मुख ताक्नुपर्ने बाध्यता हट्यो

बिहिबार, ११ पुष, २०८१
डिजिटल संस्करण

ताप्लेजुङको हिमाली क्षेत्रका बासिन्दाहरूलाई नियमित खाद्यान्न जोहो गर्न तिब्बतको भर पर्नुपर्ने बाध्यता हटेको छ । हिमाली पर्यटकीय गाउँहरू ओलाङचुङगोला, याङमालगायतका बासिन्दा तिप्ताला नाका खुले पनि अहिले तिब्बतभन्दा जिल्ला सदरमुकाम फुङलिङबाट नै खाद्य सामग्री लाने गरेका छन् । 

यसअघि ती क्षेत्रका स्थानीयहरू तिब्बतको रिउमा गएर खाद्य सामग्री ल्याउन बाध्य थिए । फक्ताङलुङ गाउँपालिका– ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटेले सकेसम्म आफ्नै देशबाट सामान आयात गरेर उपभोग गर्ने बताए ।

यसअघि नुन, तेललगायतका खाद्य सामग्री तिब्बतको रिउ बजारबाट ल्याउने ओलाङचुङगोला, याङमाका बासिन्दा अहिले सदरमुकाम फुङलिङबाट लगिरहेको अध्यक्ष शेर्पाले जानकारी दिए । उनले भने, ‘तिब्बतको मुख ताक्नुपर्ने बाध्यतामा रहेका ओलाङचुङगोला, याङमाका बासिन्दा अहिले सदरमुकाम फुङलिङबाट खाद्य सामग्री लगेर प्रयोग गर्न पाउँदा स्वाभिमानी भएको महसुस गरेका छन् ।’ 

भारत र चीनलाई जोड्ने नेपालकै छोटो विराटनगरको रानीबाट ताप्लेजुङ ओलाङचुङगोला हुँदै चीनको सिमाना टिप्ताला भन्ज्याङ जोड्ने सडक ओलाङचुङगोला पुगेपछि नेपालबाट खाद्य सामग्री ल्याउन सहज भएको उनी बताउँछन् । कोरोनाका वेला १६ चैत ०७७ मा बन्द भएको तिप्ताला नाका गत जेठदेखि खुला भएको छ । नाका खुलेसँगै स्थानीयले अहिले केही मात्रामा तिब्बतबाट खाद्य सामग्री ल्याए पनि धेरै सामग्री सदरमुकामबाट ल्याउने गरेको बताउँछन् । 

सदरमुकाम फुङलिङबाट ओलाङचुङगोला हुँदै द्विदेशीय सिमाना टिप्ताला भन्ज्याङ जोड्ने सडक पूर्ण रूपमा जोडिएपछि ओलाङचुङगोलावासीको दिनचर्या परिवर्तन भएको छ । पहिला खच्चडमा तीन–चार दिनमा मात्रै पुग्ने खाद्यान्न सामग्री अहिले एक दिनमा ढुवानी हुन थालेको छ  । खच्चडमा लगिने सामग्री अहिले गाडीमा ढुवानी हुन थालेको छ । 

सुझावित समाचार