पर्यटकीय नगरी पोखरामा आउँदो बिहीबारदेखि २१औँ संस्करणको माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ। कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा ११ देखि १५ पुससम्म प्रतियोगिता हुने आयोजकले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा मेन्स तथा उमेन्सतर्फ सिंगल्स र डबल्स तथा भेट्रान्सतर्फ ३५, ४५, ५५ र ६५ वर्षमाथि गरी १२ विधामा प्रतिस्पर्धा हुने आयोजक संघका प्रथम उपाध्यक्षसमेत रहेका प्रतियोगिता संयोजक नवीन चालिसेले पत्रकार सम्मेलनमा जानकारी दिए।
चालिसेका अनुसार प्रतियोगितामा नेपालसहित भारत, भुटान, बेलायत, जापान, हङकङलगायतका देशका करिब दुई सयजनाले प्रतिस्पर्धा गर्नेछन्। ओपनतर्फ नेपालका शीर्ष वरीयताका प्रदीप खड्कासँगै जितेन्द्र परियार, कमल भण्डारी, आरभ सम्राट हाडा, नेहालजंग थापा, रोहित सुनुवार, मनोज राणा र महिलातर्फ सुनिरा थापा, सलोनी तामाङलगायतका नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गर्ने आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले जानकारी दिए।
प्रतियोगिताअन्तर्गत ओपनतर्फ मेन्स तथा उमेन्स सिंगल्स विजेताले ८०, उपविजेताले ४० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले २० हजार नगद र मेडल पाउनेछन्। मेन्स तथा उमेन्स डबल्सतर्फ विजेताले ३०, उपविजेताले १५ हजारसहित ट्रफी पुरस्कार पाउँदा सेमिफाइनलिस्टले १० हजार नगदसहित मेडल पुरस्कार पाउनेछन ।
३५ वर्षमाथिको सिंगल्स विजेताले नगद ६० हजार उपविजेताले ३० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १५ हजारसहित मेडल पुरस्कार प्राप्त गर्नेछन्। ३५ वर्षमाथिको डबल्स विजेताले नगद २० हजार उपविजेताले १० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्नेछन्।
४५ वर्षमाथिको सिंगल्स विजेताले नगद ४० हजार उपविजेताले २० हजारसहित ट्रफी तथा सेमिफाइनलिस्टले नगद १० हजारसहित मेडल पुरस्कार प्राप्त गर्नेछन्। ४५ वर्षमाथिको डबल्स विजेताले नगद २० हजार उपविजेताले १० हजारसहित ट्रफी पुरस्कार प्राप्त गर्ने थापाले बताए। प्रतियोगिता सम्पन्न गर्न २१ लाखभन्दा बढी खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष विष्णुबहादुर थापाले जानकारी दिए। पुरस्कारमा मात्रै करिब ८ लाख खर्च हुने उनले बताए।