एनसेल फाउन्डेसनले २६ सयभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने

बुधबार, १० पुष, २०८१
डिजिटल संस्करण

एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपिएल)का खेलमा हानिएका प्रत्येक चौकाबापत चारवटा शैक्षिक सामग्री वितरण गर्ने घोषणाअनुरूप २६ सयभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । सामग्री वितरण गर्न एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ ।

यी सामग्री ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रदान गरिनेछन् । शनिबार सम्पन्न एनपिएलमा कुल ६ सय ५३ चौका हानिएका थिए । त्यसबापत एनसेल फाउन्डेसनले कुल २६ सय १२ वटा शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गर्ने भएको हो । 

क्रिकेटदेखि कक्षाकोठासम्मको यस नवीन पहलले विद्यार्थीको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने र शिक्षालाई प्रवद्र्धन गर्दै उज्ज्वल भविष्यका लागि अवसरका ढोका खोल्न मद्दत पुर्याउने विश्वास लिइएको छ । विद्यार्थीले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा आवश्यक शैक्षिक सामग्रीजस्तै स्कुल ब्याग, कापी, सिसाकलम, इरेजर, कटरलगायतका स्टेसनरी सामान समावेश हुनेछन् । यसले स्रोतको अभाव घटाउन सहयोग गर्नेछ र विद्यार्थीको पठनपाठनमा योगदान गर्ने एनसेलले जनाएको छ ।

एनपिएलमा सबैभन्दा बढी चौका जनकपुर बोल्ट्सका खेलाडी लाहिरू मिलान्थाले हानेका छन् । उनले कुल ३५ चौका हानेका छन् भने पोखरा एभेन्जर्सका आन्द्रियस गौसले ३० चौका हानेका थिए । त्यसैगरी, लुम्बिनी लायन्सका रोहितकुमार पौडेलले २६ चौका, चितवन राइनोजका रविन्द्र बोपारा र सुदूरपश्चिम रोयल्सका सैंफ जैब प्रत्येकले २४ चौका हानेका थिए । 

‘क्रिकेट खेल र एनसेल फाउन्डेसनको सामाजिक कार्य दुवैका हिसाबले यो एनपिएल एकदमै उत्साहजनक रह्यो । क्रिकेटप्रतिको चाखलाई सामाजिक कार्यसँग जोड्दै शिक्षाका लागि स्रोत आवश्यक रहेका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गर्न यो पहलकदमी गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सिएसआर हेड विशाखालक्ष्मी खड्काले भनिन् ।
 

सुझावित समाचार