उच्च अपराधका कारण ल्याटिन अमेरिका तथा क्यारेबियन क्षेत्रले हरेक वर्ष जिडिपीको ३.५ प्रतिशत अर्थात् एक खर्ब ९२ अर्ब डलर गुमाइरहेको छ
ल्याटिन अमेरिका र क्यारेबियन (एलएसी) क्षेत्रमा दशकौँदेखि हिंसात्मक अपराधले जनजीवन र जीविकोपार्जनमा ठुलो असर पार्दै आएको छ । युद्धग्रस्त क्षेत्रलाई छाड्ने हो भने यो क्षेत्र नै विश्वको सबैभन्दा हिंस्रक क्षेत्र हो । यो क्षेत्र हत्या दर, सशस्त्र डकैती तथा अन्य हिंसात्मक अपराधमा अग्रणी छ । र, यसका आर्थिक दुष्परिणाम पनि उत्तिकै विनाशकारी छन् । अपराधले कसरी विकासमा ‘कर’को रूपमा (जुन यो क्षेत्रले अब धान्न सक्दैन) काम गर्छ भन्ने बुझ्नु यहाँका सरकारका लागि नीति प्रतिक्रियामा मद्दतगार हुन सक्छ ।
यो क्षेत्रका २२ देशमाथिको हाम्रो हालैको अध्ययनले यो क्षेत्रको आपराधिक हिंसाको मूल्य निकालेको छ, जसअनुसार यो क्षेत्रले हरेक वर्ष जिडिपीको ३.४ प्रतिशत अर्थात् एक खर्ब ९२ अर्ब डलर अपराधको मूल्यका रूपमा गुमाउँछ । यो राशी भनेको यो क्षेत्रले शिक्षामा गर्ने खर्चको ७८ प्रतिशतबराबर र सामाजिक सहायता कार्यक्रममा गर्ने खर्चभन्दा दोब्बर हो । अपराधको यो लागतले आर्थिक वृद्धि एवं विकासमा गुमेका अवसरको प्रतिनिधित्व गर्छ । खराब त के भने यो आँकडा सन् २०१७ देखि एक समान छ र यसले अपराध संकटको दिगो प्रकृतिलाई पनि उजागर गर्छ ।
हत्याजन्य अपराधले यो क्षेत्रमा जिडिपीको ०.४५ प्रतिशत क्षति पुर्याउँछ, अझ क्यारेबियन क्षेत्रमा त यसको मूल्य ०.७१ प्रतिशतभन्दा माथि छ । पुलिस, अदालत र जेलजस्ता कानुन व्यवस्थाका संंयन्त्रले अर्काे १.०८ प्रतिशत जिडिपी खपत गरिदिन्छ । कारागारहरूको निर्माण तथा मर्मतसम्भारको प्रत्यक्ष लागतबाहेक कैदी–थुनुवामार्फत गुम्ने उत्पादकत्वको चक्रीय असर त पुस्तौँसम्म विस्तारित हुन्छ । सबभन्दा चिन्ताजनकचाहिँ व्यवसायको लागत हो, उनीहरूले सुरक्षाका उपायहरूमा जिडिपीको १.६ प्रतिशत खर्च गर्छन् ।
यद्यपि, यी आँकडाले यो क्षेत्रमा अपराधको वास्तविक लागतलाई मुस्किलले उजागर गर्छन् । उच्च हिंसादरका कारण विदेशी लगानीकर्ताले विशेषगरी वित्त तथा कृषिजस्ता महत्वपूर्ण क्षेत्रमा लगानीबाट परहेज राख्छन् । महिलाहरू कार्यबलबाट बाहिरिएर विद्यमान लंैगिक असमानता चर्किंदै गएको छ । अपराध हुने क्षेत्रका विद्यालयमा विद्यार्थीको उपस्थिति पातलिँदो छ भने शिक्षामा गुणस्तर कायम राख्न शैक्षिक संस्थाहरू संघर्षरत रहँदा शैक्षिक परिणाम प्रभावित भएका छन् । अर्थतन्त्रको अदृश्य पूर्वाधारका रूपमा रहने ‘विश्वासको संकट’ नागरिकबिच मात्र होइन, संस्थाहरूबिच पनि गहिरिँदै गएको छ । प्राकृतिक स्रोतसाधनको दोहन र आपराधिक समूहबाट पारिस्थितिकीय प्रणालीको क्षयीकरणका कारण वातावरणले पनि मूल्य चुकाउनुपरेको छ ।
यो संकटबाट पार पाउनु यहाँका अर्थतन्त्रका लागि वरदान साबित हुनेछ । हाम्रो अध्ययनले अपराधको दरलाई युरोपका ६ मुलुक चेक गणराज्य, आयरल्यान्ड, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल र स्विडेनको औसतमा झार्ने हो भने यो क्षेत्रले जिडिपीको लगभग एक प्रतिशत अर्थात् ५७ अर्ब डलर जोगाउन सक्छ । यी स्रोतलाई सबल समुदाय निर्माण तथा दिगो विकासलाई बढावा दिने कार्यक्रमतर्फ र्निर्देशित गर्न सकिन्छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको एक अध्ययनले यी देशमा हत्याको दरलाई विश्वव्यापी औसतमा घटाउँदा वार्षिक आर्थिक वृद्धिलाई ०.५ प्रतिशत बिन्दुले बढाउन सकिन्छ । यो भनेको सन् २०१७ देखि २०१९ को बिचको यस क्षेत्रको वृद्धिको लगभग एकतिहाइ हुन आउँछ ।
इन्टर–अमेरिकन डेभलपमेन्ट बैंक (आइडिबी)ले प्रतिअपराध स्थापित हस्तक्षेपहरूको डाटाबेस संकलित गरेको छ । यसका निष्कर्षले हिंसा कम गर्न बहुआयामिक दृष्टिकोण आवश्यक हुने देखाएको छ । यो क्षेत्रका नीति–निर्माताले सुरक्षा खर्चको दक्षता र न्याय प्रणालीको प्रभावकारिता र निष्पक्षतामा सुधार गर्न संस्थागत सुधार लागू गर्नुपर्छ । अपराधका मूल कारणलाई सम्बोधन गर्ने र समुदायमा रोजगारी सिर्जना गर्ने लक्षित सामाजिक कार्यक्रम पनि उत्तिकै महत्वपूर्ण हुन्छन् । उदाहरणका लागि, ब्राजिलले डाटा–सञ्चालित, नतिजामा आधारित ‘सुरक्षा रणनीति’ लागू गरेपछि हत्या १७ प्रतिशतसम्म घटेको थियो । यसले के देखाउँछ भने प्रमाणमा आधारित सुधार अपनाउने राजनीतिक इच्छाशक्ति भएमा परिवर्तन सम्भव छ ।
तर, आजका चुनौतीहरूले क्षेत्रीय रूपमा समन्वित प्रतिक्रियाको माग गर्छन् । आपराधिक सञ्जाल थप अन्तरदेशीय र अन्तरआबद्धित हुँदै र पत्ता लगाउन थप जटिल र कठिन हँुदै गएका छन् । जबकि तिनलाई सामना गर्ने प्रयास समन्वित हुन सकिरहेका छैनन् । क्षेत्रीय सहयोगमा सुधार गर्न आइडिबीले सुरक्षा, न्याय तथा विकासका लागि अलायन्स गर्न १८ देशसँग सहकार्य गरेको छ । यो अलायन्सले सरकारलाई नतिजामा आधारित प्रतिअपराध नीतिहरूको विकास र तिनको कार्यान्वयनमा समन्वय गर्न सक्षम बनाउनेछ । विश्व बैंक, इन्टरपोल र अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स (ओएएस) लगायत ११ संस्था यो पहलमा सामेल छन् ।
यो क्षेत्रका देशसँग असाधारण सम्भावना छ । उनीहरू जैविक विविधता र खनिजमा धनी छन् । उनीहरूसँग विश्व अर्थव्यवस्थाको हरित ऊर्जातर्फको संक्रमणलाई शक्ति प्रदान गर्ने र विश्वलाई खुवाउने क्षमता छ । हिंसाले यो क्षेत्रको विकासमा बाधा पुर्याएको भए पनि हिंसाले उनीहरूको भविष्य परिभाषित गर्न भने आवश्यक छैन । सार्वजनिक संस्थालाई बलियो बनाउने र प्रतिअपराधका नतिजामूलक नीति लागू गर्ने सहयोगी प्रयासलाई प्रोत्साहित गरेर यी देशले हिंसामा होइन कि जीवनस्तरमा वृद्धिका समाचार शीर्षक दिने कुरा सुनिश्चित गर्न सक्छाैँ ।
(अल्भाराडो ‘इन्टर–अमेरिकन डेभलपमेन्ट बैंक’मा ‘सिटिजन सेक्युरिटी एन्ड जस्टिस’ विभागकी प्रमुख र इबानेज ‘सेक्टर्स एन्ड नलेज’ विभागकी उपाध्यक्ष हुन् ।) प्रोजेक्ट सिन्डिकेटबाट