जनकपुरमा सातौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने

आइतबार, ३० मंसिर, २०८१
डिजिटल संस्करण

आगामी मार्च २१ र २२ मा जनकपुरमा सातौँ अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने भएको छ। विश्वका विभिन्न देशका क्यान्सर रोग विशेषज्ञहरूको सहभागितामा क्यान्सर सम्मेलन हुन लागेको हो।

सम्मेलनमा नेपालसहित भारत, बंगलादेश, अमेरिकालगायत देशका क्यान्सर रोग विशेषज्ञ र यसको उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी, नर्स र सरोकारवालाहरू सहभागी हुने आयोजक विनयतारा फाउन्डेसनले जनाएको छ। विश्वमा क्यान्सर उपचारमा भइरहेको नयाँ प्रगति, प्रविधि, अनुसन्धान र चिकित्सकहरूका अनुभव सम्मेलनमा समेटिने आयोजकले बताएको छ।

दुई दिनसम्म चल्ने सम्मेलनमा पहिलो दिन नीतिगत बहस तथा दाेस्रो दिन प्यानल छलफल हुनेछ। सम्मेलनमा हेड एन्ड नेक क्यान्सरका विषयमा छलफल, अब्स्ट्र्याक्ट प्रिजेन्टेसनका साथै कलेजो क्यान्सर, जिआई अन्कोलोजी, सपोर्टिभ केयर, जियू अन्कोलोजी, गाइनोक्लोजिक क्यान्सर, हेमाटोलोजिकल मेलिङन्यान्सिज र अब्स्ट्र्याक्ट पोस्टर सेसन हुने फाउन्डेसनले जनाएको छ।

नेपाल क्यान्सर अस्पतालका सर्जिकल अन्कोलोजिस्ट डा. कपेन्द्र शेखर अमात्यका साथै प्राडा जनक कोइराला (पाटन अस्पताल),  डा. सुदीप श्रेष्ठ (नेपाल क्यान्सर अस्पताल), डा. मार्क पेग्राम (स्टेनफोर्ड हेल्थकेयर, अमेरिका),  डा. यिङ ली (युनिभर्सिटी अफ वासिङ्टन, अमेरिका), डा. दिनेश क्षेत्री (युसिएलए हेल्थ, अमेरिका), डा. सञ्जय ठाकुर (टाटा मेडिकल सेन्टर), डा. श्रीनिवास के तन्त्रावाही (हुन्तस्मान क्यान्सर इन्सिच्युट, अमेरिका),  डा. विप्लव यादव (अमेरिका), डा. प्रभात ठाकुर (नेपाल क्यान्सर अस्पताल),  डा. नोरा कु (रेन अन्कोलोजी, अमेरिका), डा. अरुण शाही (पाटन अस्पताल), डा. धिरेश कुमार महर्जन (नेपाल), डा. रमेश श्रेष्ठ (बिपिकेआइएचएस), डा. सजिन राजभण्डारी (प्राइमेरा हस्पिटल), डा. सुजिता हिराचन (शिक्षण अस्पताल महाराजगन्ज )लगायतको सहभागिता रहनेछ।

सुझावित समाचार