काठमाडौंको थापागाउँस्थित मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने भएको छ। अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक मञ्चन हुन लागेको हो।
नाटकमा नाजिर स्वयंसहित अभिनेता विजय बराल देखिँदैछन्। साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ। निर्मातामा अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङ छन्।
नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्नेछ। चिठी पु¥याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ।
नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ।
बिहीबारदेखि सुरू हुने नाटक पुस २८ गते (आइतबार)सम्म सोमबारबाहेक प्रत्येक दिन मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुनेछन्।