सैद्धान्तिकभन्दा प्राविधिक शिक्षालाई जोड दिन उपप्रधानमन्त्री सिंहको आग्रह

शनिबार, २९ मंसिर, २०८१
डिजिटल संस्करण

उपप्रधानमन्त्री प्रकाशमान सिंहले सैद्धान्तिक शिक्षाभन्दा प्राविधिक शिक्षालाई प्रथामिकता दिनुपर्ने बताएका छन्। शनिबार नवलपुरको कावासोती–२ मा रहेको शिव नमुना माध्यमिक विद्यालयमा स्वर्ण महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले यस्तो बताएका हुन्। उपप्रधानमन्त्री सिंहले विद्यालयको स्वर्ण स्तम्भको अनावरण र स्मारिका विमोचन गरे। 

२०३१ सालमा स्थापना भएको शिव नमुना माध्यमिक विद्यालयको स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा विद्यालयले स्वर्ण महोत्सव गरेको हो। स्वर्ण महोत्सवका २ पुससम्म विविध कार्यक्रम गरी मनाउने विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले बताए। 

स्वर्ण महोत्सवको जिल्लास्तरीय विज्ञान प्रदर्शनी, खेलकुद, अतिरिक्त क्रियाकलाप, शैक्षिक सामग्री प्रदर्शनी, खाना उत्सव, पूर्वविद्यार्थी तथा विद्यार्थी, शिक्षक, पूर्वसमितिबिच पुनर्मिलनलगायतको कार्यक्रम राखिएको छ। 

महोत्सवमा मन्त्री सिंहले वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका कारण शैक्षिक प्रमाणपत्र दिने मात्रै शिक्षाभन्दा पनि सिप सिकाउने शिक्षा दिनुपर्नेमा जोड दिए। उनले नेपाल सरकार शिक्षा क्षेत्रको विकासका लागि शैक्षिक संस्थाहरूको आर्थिक तथा भौतिक विकासका लागि तत्पर रहेको बताए।  
 

सुझावित समाचार