भारतका आश्रव्य मेहरा र मंगोलियाकी मार्टा चोग्सोमजाभले आइटिएफ वर्ल्ड टेनिस टुर जे–३० सर्किट–२ अन्र्तगत एकलतर्फ क्रमशः पुरुष र महिलातर्फको उपाधि हात पारेका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न छैटौं संस्करणको प्रतियोगितामा नेपालका आरव सम्राट हाडा र शिवाली गुरुङ उपविजेता भए। शनिबार सम्पन्न फाइनलमा भारतका मेहराले नेपालका हाडालाई ६–३ र ६–४ को सोझो सेटमा तथा मंगोलियाकी मार्टाले नेपालकी गुरुङलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरेकी थिइन्।
प्रतियोगितामा पुरुष डबल्सको उपाधि भारतका आदित्य मोर र अधिराज ठाकुरको जोडीले हात पार्ने क्रममा भारतकै आरव चावला र ओजस मेहलावतको जोडीलाई ७–५ र ६–२ ले पराजित गरे। महिला डबल्सको उपाधि भने मार्टा चोग्सोमजाभ (मङ्गोलिया) र यिजिया झाओ (चीन)को जोडीले हात पार्ने क्रममा भारतका दिशा बेहरा र अर्जन खोरकिवालाको जोडीलाई ६–२, ६–४ को सोझो सेटमा पराजित गरे।
दुईसातासम्म चलेको सर्किट १ र सर्किट २ को प्रतियोगितामा महिला–पुरुष सिंगल्स तथा डबल्स गरी चार विधामा नेपालसँगै जापान, भारत, चीन, अमेरिका, न्युजिल्याड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका ७० पुरुष र ३५ महिला गरी १०५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताका लागि खेलाडीसँगै उनीहरुका अभिभावक र प्रशिक्षक गरेर २५० जना विदेशबाट नेपाल आएका प्रतियोगिताका संयोजक राजकुमार गुरुङले जानकारी दिए।
१३ देखि १८ वर्षका खेलाडीहरुले वरियताको आधारमा मेन ड्र हुँदै बाँकीले क्वालिफाईबाट छनोट भएर सर्किट १ र २ मा प्रतिस्पर्धा गरेका प्रचार प्रसार संयोजक प्रिती बरालले जानकारी दिइन्। उनका अनुसार मेन ड्रको खेल ३२ जनाबिच भएको थियो। विजेताले ३०, उपविजेताले १८, सेमिफाईनलिष्टले नौ, क्वाटर फाइलिष्टले पाँच र आर– १६ ले दुई अंक प्राप्त गर्दा डबल्समा विजेताले २५, उपविजेताले १३, सेमिफाइनलिष्टले ६, क्वाटरफाइनलिष्टले तीन अंक प्राप्त गरे।
प्रतियोगिताका निर्देशक अजय विष्टका अनुसार प्रतियोगितामा पुरुषतर्फ विश्ववरियतामा नम्बर १ जापानी खेलाडी रिकु हिगासी र चौथो वरियतामा रहेका आरभ सम्राट हाडा तथा महिलातर्फ नम्बर १ भारतीय खेलाडी माहिका खन्ना र छैटौं नम्बरमा रहेकी नेपालकी सुनिरा थापालगायतले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिता संचालनका लागि चार भारतीय अम्पाएर पोखरा आएका थिए।
विजेता खेलाडीहरुलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापा, सल्लाहकार गोपीबहादुर भट्टराई, सदस्य प्रिती बराल, टुर्नामेन्ट डाइरेक्टर अजय विष्ट, आइटिएफ सुपरभाइजर प्रविन नायकलगायतले मेडल वितरण गरेका थिए।