नेपाल प्रिमियर लिगमा शनिबार कुशल मल्लको अर्धशतक मद्दतमा चितवनले जनकपुरलाई जितका लागि विशाल लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको चितवन राइनोजले पाँच विकेटको क्षतिमा जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको हो।
चितवनका क्याप्टेन मल्लले ४१ बलमा सर्वाधिक ७२ रन जोडे। उनले तीन चौका र सात छक्का प्रहार गरे। रवि बोपरा र हसन इसाखिलले क्रमशः ४४ र २८ रनको योगदान गरे। सन्तोष कार्की १४ र विपिन रावल तीन रन बनाएर पेभिलियन फर्किँदा अविजित रहेका सोहिल तनविर र बसिल हमिदले क्रमशः पाँच र दुई रन बनाए।
जनकपुरका लागि ललितनारायण राजवंशीले दुई तथा हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निसमले समान एक विकेट लिए।
यसअघि आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै काठमाडौं गुर्खाजले प्लेअफ सम्भावनालाई बलियो बनाएको छ।