वेस्ट इन्डिजका लिजेन्डर बायाँहाते ब्याट्सम्यान ब्रायन लारा शुक्रबार नेपाल प्रिमियर लिग (एनपिएल)को खेल हेर्न काठमाडौं आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लारालाई नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीले स्वागत गरेका थिए । गत जुनमा गरेको वाचाअनुसारै उनी काठमाडौं आएका हुन् । टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध ४ सय रन र पहिलो श्रेणीमा ५०१ रनको विश्वकीर्तिमान बनाएका लाराले नेपाल क्रिकेटलाई प्रत्यक्ष रूपमा हेर्न पाउँदा खुसी लागेको बताएका छन् । ‘नेपालबारे धेरै कुरा सुनेको र अब आफैँले प्रत्यक्ष रूपमा त्यसको अनुभव लिने अवसर पाएको छु,’ लाराले भने । काठमाडौंमा रहँदा उनले नेपालमा व्यावसायिक प्रतिष्ठानका प्रमुख तथा सरकारी अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम रहेको क्यानले जनाएको छ । लाराले वेस्ट इन्डिजका लागि १३१ टेस्ट र २९९ एकदिवसीय खेल खेलेका थिए । क्यानले एनपिएलको ब्रान्डिङका क्रममा विश्व क्रिकेटमा ब्याटिङ र बलिङमा प्रभावशाली प्रदर्शन गरेका खेलाडीलाई मैदानमा प्रतिस्पर्धा गराइरहेको छ । समग्रमा एनपिएलमा आठ फ्रेन्चाइजले ४५ विदेशी खेलाडीलाई अनुबन्ध गरेका छन् । विभिन्न अवसरमा चर्चित क्रिकेटर नेपाल आएका छन् ।
सचिन तेन्दुलकर (भारत)
दुई दशकभन्दा बढी अन्तर्राष्ट्रिय क्रिकेट खेलेका सचिन तेन्दुलकर ०७६ सालमा नेपाल आएका थिए । बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले सचिनलाई नेपाल डाकेको थियो । बाल अधिकारबारे सन्देश दिन आयोजित मैत्रीपूर्ण क्रिकेट १० ओभरमा सचिन सहभागी भएका थिए । उनले त्रिवि क्रिकेट मैदानमा बालबालिकासँग रमाइलो गर्दै ब्याटिङ र बलिङसमेत गरेका थिए । दुई दिनको नेपाल भ्रमणमा सचिनले भनेका थिए ‘छोटो समय भए पनि नेपालको बसाइ रमाइलो भयो, यहाँको मैदान निकै राम्रो रहेछ ।’ सचिनले एकदिवसीय तथा टेस्ट खेलमा विश्व कीर्तिमानी रूपमा सर्वाधिक रन बनाएका छन् । क्रिकेट खेलमा शतकको शतक बनाउने सचिन पहिलो क्रिकेटर हुन् ।
पाकिस्तानका सोहेल तनविर, वेस्ट इन्डिजका चाडविक चाल्टन, रायमाने रेफेर, अस्ट्रेलियाका वेन कटिन, न्युजिल्यान्डका जेम्स नसिम, स्कट कुगेलेज्नी, अमेरिकाका श्रीलंकन पूर्वखेलाडी लाहिरू मिलान्थलगायत चर्चित क्रिकेटर एनपिएलमा आबद्ध छन् । उनीहरूले उत्कृष्ट प्रदर्शन गर्नुका साथै त्रिवि क्रिकेट मैदानमा नेपाली दर्शकको मन जितिरहेका छन्।
साहिद अफ्रिदी (पाकिस्तान)
०७९ साल भदौमा पाकिस्तानका पूर्वकप्तान तथा विश्व क्रिकेटकै राम्रा अलराउन्डर साहिद अफ्रिदी एभरेस्ट प्रिमियर लिगमा सहभागी जनाउन तीन दिनका लागि नेपाल आएका थिए । उनलाई काठमाडौं गुर्खाजले आबद्ध गरेको थियो । त्रिवि मैदानमा उनलाई हेर्न हजारौँ दर्शक उपस्थित भएका थिए । विपक्षी खेलाडीका विकेट तथा क्याच लिँदा अफ्रिदीले आफ्नो ट्रेडमार्क शैलीमा खुसी मनाएका थिए । खेलाडी र समर्थकसँग ठट्टा गर्दै उनले इपिएलको मज्जा लिए । त्यसवेला अफ्रिदीले नेपाल र पाकिस्तानबिच क्रिकेट कूटनीतिलाई स्थापित गर्ने बताएका थिए । ‘नेपाल र पाकिस्तानका जनतालाई जोड्न क्रिकेट कूटनीति आवश्यक छ,’ उनले भनेका थिए । अफ्रिदीले पाकिस्तानका लागि २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ टी–२०आई खेलेका थिए ।
महेन्द्रसिंह धोनी (भारत)
भारतीय दूतावास र क्यानको सहकार्यमा भारतका तत्कालीन कप्तान महेन्द्रसिंह धोनी ०६९ को असारमा एक दिनका लागि मात्र काठमाडौं आएका थिए । त्यसवेला भारतको तीनवटै फम्र्याटमा कप्तानी गरिरहेका धोनीको आगमन अर्थपूर्ण रूपमा लिइएको थियो । उनी नेपाल आउँदा भारतीय मिडियाहरूले पछ्याएका थिए । धोनीले त्रिवि क्रिकेट मैदानमा दुई घण्टाजति बिताएका थिए । त्रिवि मैदानमा एपिएफ बलले धोनीको सुरक्षा दिइएको थियो । उनले नेपाली समर्थकसँग केही समय बिताए । प्रदर्शनीका रूपमा उनले केही समय विकेटकिपिङसमेत गरेका थिए । उनले नेपालको क्रिकेट भविष्य राम्रो भएको बताएका थिए ।
ब्रेट ली (अस्ट्रेलिया)
विश्वचर्चित क्रिकेटरमध्ये अस्ट्रेलियन ब्रेट ली दुई वर्षअघि नेपाल आएका थिए । क्यान आफैँले आयोजना गरेको नेपाल टी–२० लिगमा खेलाडीका रूपमा नभएर उनी मेन्टरका रूपमा आएका थिए । त्यसवेला उनले नेपालमा क्रिकेटको प्यासन रहेको बताएका थिए । ‘नेपालमा क्रिकेटको प्यासन निकै छ । यो अझ माथि गएको देख्न चाहन्छु,’ उनले भनेका थिए, ‘युवा क्रिकेटरहरू आइरहेका छन् ।’ सन् १९९९ मा अस्ट्रेलियन टोलीमा डेब्यु गरेका लीले टेस्टमा ३१० तथा एकदिवसीय खेलमा ३८० विकेट लिएका थिए । उनले टी–२०आईमा २८ विकेट लिएका छन् । तत्काल पाकिस्तानी सोयव अख्तरपछि उनी दोस्रो तीव्र गतिका बल फ्याँक्ने बलरका रूपमा चिनिएका थिए ।
जोन्टी रोड्स (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिकाका विश्वचर्चित फिल्डर जोन्टी रोड्सले दुईपटक नेपाल भ्रमण गरेका छन् । रोड्स अहिले नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सका मेन्टरका रूपमा छन् । यसअघि उनी ०७५ सालको कात्तिकमा पहिलोपटक नेपाल आएका थिए । त्यसवेला उनले ‘हाई पर्फमेन्स क्याम्प’मा आबद्ध युवा खेलाडीलाई टिप्स दिएका थिए । त्रिवि मैदानमा सञ्चालित क्याम्पमा युवा खेलाडीले उनीबाट लाभ उठाए । रोड्सलाई विश्वकै सर्वकालीन महान् फिल्डरमध्ये एक मानिन्छ । रोड्स नेपालको प्रकृतिसँग दंग छन् । उनले यसपटक पोखरालगायत हिमालय क्षेत्रको भरपूर मनोरञ्जन लिएको बताएका छन् । ५५ वर्षीय रोड्सले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेल खेलेका छन् ।
शिखर धवन (भारत)
पहिलो संस्करणको एनपिएलमा नाम चलेका अन्तर्राष्ट्रिय क्रिकेटरको जमघट छ । यसमध्ये भारतका पूर्वओपनर ब्याट्सम्यान शिखर धवन सर्वाधिक चर्चित खेलाडी हुन् । कर्णाली याक्सका लागि चार खेलका उनी धेरै रन बनाउने खेलाडीको सूचीमा १०औँ स्थानमा छन् । उनले चारमध्ये एक इनिङ्समा नटआउट रहँदा १३६ रन बनाए । यसक्रममा उनले एक अर्धशतकीय इनिङ्स खेलेका थिए । एनपिएलमा उनले १२ चौका र ६ छक्का प्रहार गरे । नेपाल बसाइका क्रममा धवनले पशुपतिनाथदेखि सगरमाथासम्मको भ्रमण गर्न भ्याए । धवनले अर्कोपटक पूरै सिजनका लागि एनपिएल खेल्ने वाचा गरेका छन् ।
मार्टिन गुप्तिल (न्युजिल्यान्ड)
न्युजिल्यान्डका विश्वासिला ब्याट्सम्यान गुप्तिल पनि एनपिएलमै आबद्ध छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा नाम चलेका खेलाडी एनपिएलमा जोडिइरहँदा उनी पनि ठुला स्टारका हुन् । विराटनगर किंग्सले उनलाई अनुबन्ध गरेको छ । विराटनगरबाट ६ खेलमै सहभागी भएका उनले १३६ रन बनाएका छन् । यसक्रममा उनले एक अर्धशतकीय इनिङ्स खेले । मैदानमा ठुलो सट प्रहार गर्न मन पराउने गुप्तिलको ब्याट यस्तो प्रदर्शनमा देख्न सकिएको छैन । उनले अहिलेसम्म पाँच छक्का मात्र प्रहार गरेका छन् । सन् २०१५ को एकदिवसीय विश्वकपमा दोहोरो शतक लगाउँदै उनले विश्व कीर्तिमान राखेका थिए । न्युजिल्यान्डबाट उनले ४७ टेस्टमा तीन शतक, एकदिवसीयमा १८ शतक तथा टी–२० आईमा दुई शतकीय इनिङ्स खेलेका छन् ।
कपिल देव (भारत)
सन् १९८३ मा भारतलाई पहिलोपटक एकदिवसीय विश्वकप क्रिकेटमा च्याम्पियन बनाएका कप्तान कपिल देव एकपटक नेपाल आएका थिए । प्रतियोगिताको आयोजक भारतको जी टिभीले सन् १९९९ मा टेम्पो विश्व लिजेन्ड कप क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । यसमा क्यानले व्यवस्थापकीय भूमिका निर्वाह गरेको थियो । लिजेन्ड कपमा भारत, पाकिस्तान र अन्य विभिन्न राष्ट्रबाट अन्तर्राष्ट्रिय खेलमा सन्न्यास लिइसकेका खेलाडीबिचको प्रतिस्पर्धा भएको थियो । प्रतियोगिताबाट आधिकारिक रूपमा त्रिवि क्रिकेट मैदानको समेत उद्घाटन भयो । भारतको जी टिभीले त्रिवि मैदान बनाएको थियो । ९ मे १९९९ मा कपिल देवको कप्तानीमा रहेको टोली च्याम्पियन बनेको थियो । च्याम्पियनलाई तत्कालीन युवराज दीपेन्द्र शाहले ट्रफी प्रदान गरेका थिए ।